स्किब्स कप २०७९: टीआईए, पारामाउन्ट एकेडेमी र भ्याली पब्लिक च्याम्पियन



टीआईए, पारामाउन्ट एकेडेमी र भ्याली पब्लिकले नवौं स्किब्स कप अन्तरविद्यालय थ्री बाइ थ्री बास्केटबल प्रतियोगितामा उपाधि जितेका छन्। सोमबार सम्पन्न प्रतियोगितामा टीआईएले सिनियर ब्वाइज, पारामाउन्ट एकेडेमीले जुनियर ब्वाइज र भ्याली पब्लिकले सिनियर गल्र्स विधामा च्याम्पियन बने।

बसुन्धरास्थित आयोजक स्किब्सको कोर्टमा भएको फाइनल खेलमा टीआईएले सिनियर ब्वाइजतर्फ न्युटनलाई २१–१२ ले हरायो। जुनियर ब्वाइजमा पारामाउन्टले ज्ञान निकेतनलाई १९–७ ले पराजित गर्‍यो। सिनियर गल्र्सको फाइनलमा भ्याली पब्लिकले त्रिज्योतिलाई २१–८ ले पाखा लगाउँदै उपाधि आफ्नो पक्षमा पार्‍यो।

सर्वोत्कृष्ट खेलाडीको रूपमा सिनियर ब्वाइजतर्फ टीआईएका वर्दान थापा, जुनियर ब्वाइजमा पारामाउन्टका सुदीप घले र सिनियर गल्र्समा भ्याली पब्लिककी दृष्य गुरुङ ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए।

विजेता टिमलाई टोखा नगरपालिकाका प्रमुख प्रशासनिक अधिकृत शेरबहादुर बिसी, टोखा नगर प्याब्सनका अध्यक्ष तथा स्किब्सका प्रिन्सिपल अरुण केसी, पारामाउन्ट एकेडेमीका प्रिन्सिपल मुकुन्द पाण्डेलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे। तीनदिने प्रतियोगितामा सिनियर ब्वाइजतर्फ ३२ टिम, जुनियर ब्वाइजतर्फ २३ टिम र सिनियर गल्र्सतर्फ १६ टिमको सहभागिता रहेको थियो।

प्रतिक्रिया दिनुहोस्