खेलाडी दुर्घटना सचेतना कार्यक्रम सम्पन्न



काठमाडौं, जेठ १२ — युवा तथा खेलकुद मन्त्रालयको आयोजनामा खेलाडीहरूलाई लक्षित गर्दै दुर्घटना विरुद्धको सचेतना कार्यक्रम सोमबार सम्पन्न भयो। चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको समन्वयमा आयोजित यस कार्यक्रममा खेल मैदानमा सम्भावित दुर्घटनाबाट कसरी तत्काल उद्धार गर्न सकिन्छ भन्ने विषयमा सहभागीलाइ प्रशिक्षण दिइयो।

कार्यक्रममा राखेपअन्तर्गत ‘मिशन–२०२६’ मा राष्ट्रिय टिम तयारी विशेष प्रशिक्षण लिइरहेका उसु, जुडो र कबड्डी खेलका ४० खेलाडी तथा ६ प्रशिक्षक गरी कुल ४६ जनाको सहभागिता रहेको थियो।

प्रशिक्षणमा प्रा.डा. रविराम श्रेष्ठ, सह प्रा.डा. ऋषि विष्ट, डा. लुना शर्मा खनाल, सह प्रा.डा. ऋतु प्रधान, डा. निर्माणप्रसाद ज्ञवाली र सह प्रा.डा. अभय पोखरेलले खेलाडी दुर्घटनासम्बन्धी प्राथमिक उपचार, जोखिम न्युनिकरण र तत्कालीन उद्धारका उपायबारे जानकारी दिएका थिए।

कार्यक्रममा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपति प्रा.डा. भुपेन्द्रकुमार बस्नेत, राखेपका सदस्य–सचिव टंकलाल घिसिङ, युवा तथा खेलकुद मन्त्रालयका सचिव डा. हरिप्रसाद लम्साल, प्रतिष्ठानका सह–निर्देशक डा. मिनचन्द्र अधिकारी, रजिष्ट्रार डा. ज्ञानेन्द्रविक्रम शाह, मन्त्रालयका सह–सचिव रामचरित्र मेहता तथा राष्ट्रिय टिम तयारीका निर्देशक दीपक विष्टको उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस्