एचजेबीएल : गोल्डेनगेटको लगातार पाँचौं जित



११ जेठ, काठमाडौं ।


गोल्डेनगेटले हिमालयन जाभा बास्केटबल लिग (एचजेबीएल) मा आइतबार कीर्तिपुरलाई पराजित गर्दै लिगमा लगातार पाँचौं जित दर्ता गरेको छ।

कीर्तिपुर कभर्डहलमा भएको खेलमा गोल्डेनगेटले घरेलु टोली कीर्तिपुरमाथि ८१-६४ को सहज जित निकाल्यो। यस जितसँगै गोल्डेनगेटले ६ खेलबाट ११ अंक जोड्दै शीर्ष स्थानमा रहेको हाउण्ड्स एकेडेमीसँग बराबरी गरेको छ।

लिगको पहिलो खेलमा टाइम्ससँग पराजित भएपछि गोल्डेनगेटले बाँकी पाँच खेलमा अपराजित रहँदै उत्कृष्ट प्रदर्शन गर्दै आएको छ। लिगमा हाउण्ड्स एकेडेमीलाई हराउने एकमात्र टिम पनि गोल्डेनगेट नै हो।

कीर्तिपुरका लागि भने यो लगातार चौथो हार हो। सुरुवाती दुई खेलमा सामाखुशी युथ क्लबलाई पराजित गरेपछि कीर्तिपुरले पुनः जितको स्वाद चाख्न सकेको छैन।

गोल्डेनगेटले कीर्तिपुरमाथि लिगको दोस्रो जित निकालेको हो। पहिलो भेटमा पनि गोल्डेनगेटले कीर्तिपुरलाई ९२-६५ ले हराएको थियो।

गोल्डेनगेटले खेलको सुरुवातदेखि नै आक्रमक लयमा रहँदै चारै क्वाटर आफ्नो पक्षमा पार्‍यो।

पहिलो क्वाटर: २६-२०

दोस्रो क्वाटर: १८-१५

तेस्रो क्वाटर: २१-१७

चौथो क्वाटर: १७-१२

खेलको ‘मोस्ट भ्यालुएबल प्लेयर’ (MVP) गोल्डेनगेटका अजय कुश्वाह घोषित भए।
गोल्डेनगेटका सुदिप पौडेलले सर्वाधिक २३ अंक जोडे भने कीर्तिपुरका निश्चल महर्जनले २२ अंक स्कोर गरे।

प्रतिक्रिया दिनुहोस्