
राष्ट्रपति रनिङशिल्ड खेलकुद प्रतियोगिताको १५औं संस्करण यही जेठ २८ देखि ३० गतेसम्म काठमाडौंमा आयोजना हुने भएको छ। राष्ट्रिय खेलकुद परिषद्को कार्यकारी समितिले हालै गरेको निर्णय अनुसार प्रतियोगिताको तयारी सुरु भइसकेको छ।
प्रतियोगिताको उद्घाटन राष्ट्रपति स्वयंले गर्ने तय भएकोले निमन्त्रणा पठाउन युवा तथा खेलकुद मन्त्रालयलाई अनुरोध गर्ने निर्णय व्यवस्थापन समितिको बैठकले गरेको छ। आइतबार बसेको बैठकले प्रतियोगिता सञ्चालन र व्यवस्थापनका लागि सम्बन्धित खेल संघ र मुख्य प्रशिक्षकहरूलाई जिम्मेवारी तोकेको छ।
प्रतियोगितामा एथलेटिक्स, भलिबल, कबड्डी, कराते, तेक्वान्दो र उसुजस्ता खेलहरू समावेश हुनेछन्। राष्ट्रपति रनिङशिल्डलाई खेल प्रतिभा पहिचानको महत्वपूर्ण माध्यमको रूपमा लिँदै परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले प्रतियोगिता भव्य रूपमा सम्पन्न गर्न निर्देशन दिएका छन्।
पालिका, जिल्ला हुँदै प्रदेशस्तरसम्म छनोट भएका खेलाडीहरू केन्द्र तहको प्रतियोगितामा सहभागी हुनेछन्। व्यवस्थापन समितिका सचिव मीनकुमार शर्माका अनुसार प्रत्येक प्रदेशबाट ४९ छात्र र ४९ छात्रा गरी ९८ जना सहभागी हुनेछन्। सातवटै प्रदेशबाट ६८६ खेलाडी र १७ जना अफिसियलसहितको सहभागिता रहने अपेक्षा गरिएको छ।
एथलेटिक्स र उसु खेल दशरथ रंगशालामा, कराते र तेक्वान्दो सातदोबाटोमा तथा कबड्डी लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा सञ्चालन गरिनेछ।





