
धापासी, काठमाडौं
श्री चन्द्रविन्दु इन्टरनेसनल बोर्डिङ स्कुल (स्किब्स) को आयोजनामा नवौं स्किब्स कप अन्तरविद्यालय थ्री बाइ थ्री बास्केटबल प्रतियोगिता शनिबारदेखि सुरु भएको छ। प्रतियोगिताको उद्घाटन टोखा नगरपालिका–५ का अध्यक्ष मदन गुरुङ र स्किब्सका प्रिन्सिपल अरुण केसीले संयुक्त रूपमा बल हस्तान्तरण गरेर गरेका हुन्।

पहिलो दिन ९५ खेल हुने तय भए पनि लगातार वर्षाका कारण ६२ खेल मात्र सम्पन्न हुन सके। जसका कारण प्रतियोगिता आइतबार सकिने कार्यक्रम सोमबारसम्म लम्बिएको आयोजकले जनाएको छ।
सिनियर गल्र्सतर्फ निम्स विजेता र चेल्सी वर्ल्ड स्कुल उपविजेता बन्दै क्वाटरफाइनलमा प्रवेश गरेका छन्। सिनियर ब्वाइजतर्फ टीआईए, विल्सन एकेडेमी, प्राण्जली, स्काइलार्क, हिमालय, ग्रिनल्यान्ड, रिलायन्स, स्किब्स, एन्जल्स हार्ट र नेपाल पुलिस स्कुल ‘ए’ प्रिक्वाटरफाइनलमा प्रवेश गरेका छन्।

जुनियर ब्वाइजतर्फ ओडिसी इन्टरनेसनल एकेडेमी, पिपुल्स एकेडेमी, एन्जल्स हार्ट, युनिक नेपाल, नेपाल पुलिस स्कुल, ज्ञान निकेतन, गोल्डेन पिक, लालीगुराँस नेशनल एकेडेमी र गेटवे एकेडेमीले प्रिक्वाटरफाइनल यात्रा तय गरेका छन्।
धापासीस्थित स्किब्सको कोर्टमा भइरहेको प्रतियोगितामा सिनियर ब्वाइजका ३२, सिनियर गल्र्सका १६, जुनियर ब्वाइजका २३ र स्टाफतर्फ ४ टिमले सहभागिता जनाएका छन्।





