काठमाडौंमा शुक्रबारदेखि एसियाली मिक्स बक्सिङ प्रतियोगिता सुरु



काठमाडौं, जेठ १०
नेपाल मिक्स बक्सिङ संघ, उमा नेपाल र बूढानीलकण्ठ कुङफुको संयुक्त आयोजनामा पहिलो एसियाली मिक्स बक्सिङ प्रतियोगिता यही शुक्रबारदेखि सुरु हुने भएको छ। प्रतियोगिता काठमाडौंको बूढानीलकण्ठ बैंक्वेटमा आयोजना हुनेछ।

नेपाल मिक्स बक्सिङ संघका अध्यक्ष सुकमान लामाका अनुसार प्रतियोगितामा नेपाल, भारत, पाकिस्तान, थाइल्यान्ड, बंगलादेश र श्रीलंकालगायत ६ राष्ट्रका करिब १५० खेलाडी सहभागी हुनेछन्। साथै, इराक, इरान र अफगानिस्तानका प्रतिनिधिहरू पनि सहभागी हुन नेपाल आउने छन्।

बूढानीलकण्ठ नगरपालिकाको आर्थिक सहयोगमा सञ्चालन हुने दुईदिने प्रतियोगितामा सिनियर, जुनियर र सब-जुनियर समूहतर्फ गरी ३० स्पर्धा समावेश छन्। राष्ट्रिय स्तरमा मार्सल आर्ट्स प्रतियोगिता खेलिसकेका खेलाडीहरूले मात्र प्रतियोगितामा सहभागी हुन पाउनेछन्। प्रतियोगिता सञ्चालनमा करीब ३१ लाख रुपैयाँ खर्च हुने आयोजकले जनाएको छ। सहभागीहरूको खाना र बसोबासको व्यवस्था पनि आयोजकले गर्नेछ।

शनिबार आयोजित पत्रकार सम्मेलनमा बूढानीलकण्ठ नगरपालिकाका मेयर मिठाराम अधिकारी, खेलकुद संयोजक एवं वडा नं. ८ का अध्यक्ष सुमन तामाङले प्रतियोगिताको ट्रफी सार्वजनिक गरे। कार्यक्रममा मेयर अधिकारीले नगरपालिकाले खेलकुदको विकासमा प्राथमिकता दिँदै अन्तर्राष्ट्रिय स्तरमा पदक जित्ने खेलाडीलाई नगद पुरस्कार दिने योजना रहेको बताए। उनले वार्षिक खेलकुद क्यालेन्डर तयार पारेर नियमित गतिविधि सञ्चालन गरिने जानकारी पनि दिए।

खेलकुद संयोजक तामाङले प्रतियोगिताले पर्यटन प्रवर्द्धनमा समेत योगदान पुग्ने विश्वास व्यक्त गर्दै सफल आयोजनाका लागि सबैको सहकार्य आवश्यक रहेको बताए।

कार्यक्रमका क्रममा युकेस्थित उमा मुख्यालयबाट प्राप्त ब्ल्याक बेल्ट चौथो डानको प्रमाणपत्र अध्यक्ष सुकमान लामालाई मेयर अधिकारीद्वारा हस्तान्तरण गरिएको थियो। कार्यक्रममा उप–मेयर अनिता लामा, नेपाल बक्सिङ महासंघका वरिष्ठ उपाध्यक्ष अर्जुनबहादुर केसी, महासचिव मानबहादुर भण्डारी तथा नगरपालिकाका विभिन्न वडाका अध्यक्षहरूको उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस्