
राष्ट्रिय मुवाँथाई संघको आयोजनामा दोश्रो राष्ट्रिय मुवाँथाई प्रतियोगिता आगामी असार ५ गतेदेखि ७ गतेसम्म काठमाडौंमा आयोजना हुने भएको छ। संघका अध्यक्ष गणेशलाल कक्षपतिको अध्यक्षतामा बसेको बैठकले सो निर्णय गरेको हो।
प्रतियोगितामा पुरुषतर्फ एमेच्योर र सेमी प्रो विधामा ५०, ५५, ६०, ६५, ७०, ७५ केजीमुनि र खुला तौल समूहमा प्रतिस्पर्धा हुनेछ। महिलातर्फ ५०, ५५, ६०, ६५ केजीमुनि र खुला तौल समूहमा खेलहरू सञ्चालन हुनेछन्।
सेमी प्रो विधामा सहभागी हुन चाहने खेलाडीले अघिल्ला प्रतियोगितामा कम्तीमा तीनवटा फाइट जितेको हुनुपर्नेछ। त्यस्तै, प्रोफेसनल विधामा पुरुषतर्फ ६० केजीमुनि र महिलातर्फ ५० केजीमुनिमा खेल हुने छ। प्रोफेसनलमा भाग लिन कम्तीमा पाँचवटा फाइट जितेको प्रमाण पेश गर्नुपर्नेछ।
सेमी प्रो विधामा प्रथम, द्वितीय र तृतीय स्थान प्राप्त गर्ने खेलाडीले क्रमशः नगद रु १०,०००, रु ५,००० र रु २,५०० पुरस्कार प्राप्त गर्नेछन्। प्रोफेसनल विजेताले रु ३०,००० र उपविजेताले रु २०,००० नगद पुरस्कार प्राप्त गर्नेछन्।
प्रतियोगिता सफल बनाउन विभिन्न समिति गठन गरिएको छ। आर्थिक समितिको संयोजकमा वीरेन्द्र ओली, निर्णायक समितिमा भुपेश शाक्य (संयोजक), प्रचार प्रसार उपसमितिमा मनीष लिबी (संयोजक), खाना तथा होटल व्यवस्थापन समितिमा बालगोपाल शाह ठकुरी (संयोजक), तथा स्वयंसेवक तथा सुरक्षा समितिमा दीपक तामाङ (संयोजक) रहेका छन्।





