आईटीएफ यू–१२ टिम च्याम्पियनसिपका लागि नेपाली टेनिस टोली श्रीलंका प्रस्थान



काठमाडौं

आईटीएफ एसिया यु–१२ टिम च्याम्पियनसिप (दक्षिण एसियाली क्षेत्रीय छनोट) मा सहभागी हुन ६ सदस्यीय नेपाली टेनिस टोली शनिबार श्रीलंकाको कोलम्बो प्रस्थान गर्ने भएको छ।

टोलीमा पुरुषतर्फ विश्वविशेष डल्लाकोटी, अर्यासराज पौडेल र आरित मल्ल तथा महिलातर्फ सरा पन्त र थिअ श्रेष्ठ रहेका छन्। टोलीको प्रशिक्षकको जिम्मेवारी सूर्यभूषण वज्राचार्यले सम्हाल्ने छन्।

मे २६ देखि ३० तारिखसम्म आयोजना हुने उक्त प्रतियोगितामा नेपालसहित भारत, श्रीलंका, माल्दिभ्स, भुटान, बंगलादेश र पाकिस्तान सहभागी हुनेछन्। प्रतियोगिता अन्तर्गत प्रत्येक राष्ट्रले २ सिंगल्स र १ डबल्स खेल खेल्नुपर्ने नियम छ।

नेपाल टेनिस संघका कार्यालय सचिव प्रवीण देवकोटाका अनुसार, पुरुष र महिलातर्फ शीर्ष दुई स्थान हासिल गर्ने राष्ट्रले आगामी सेप्टेम्बरमा काजाकिस्तानमा हुने फाइनल चरणमा सहभागिता जनाउने अवसर प्राप्त गर्नेछन्।

शुक्रबार आयोजित एक कार्यक्रमबीच राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ, नेपाल टेनिस संघ तदर्थ समितिका संयोजक मनोहरदास मुललगायतले टोलीलाई बिदाइ गरेका थिए।

प्रतिक्रिया दिनुहोस्