‘म्यान अफ द वर्ल्ड २०२५’मा नेपालको प्रतिनिधित्व गर्दै आयुष दुलाल, फिलिपिन्स प्रस्थान



काठमाडौं

‘म्यान अफ द वर्ल्ड नेपाल २०२४’ का विजेता आयुष दुलाल अन्तर्राष्ट्रिय प्रतियोगिता ‘म्यान अफ द वर्ल्ड २०२५’मा सहभागी हुन फिलिपिन्स प्रस्थान गरेका छन्। मे २३ देखि ३१ तारिखसम्म फिलिपिन्समा आयोजना हुने उक्त सौन्दर्य प्रतियोगितामा नेपालको तर्फबाट प्रतिनिधित्व गर्न उनी बिहीबार राति त्यसतर्फ प्रस्थान गरेका हुन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘मिस्टर नेपाल २०२३’ समर्पण कार्की, ‘मिस्टर वर्ल्ड २०२४’ सन्तोष लोक्सम, ‘मिस्टर ग्लोबल २०२४’ योगेश श्रेष्ठ, रिजनल डाइरेक्टर सन्दीप केसी, नेशनल डाइरेक्टर रवि धमला, र नेक्स्ट मोडल्स नेपालकी प्रबन्ध निर्देशक यतना पाण्डे लगायतको टोलीले उनलाई बिदाइ गरेका थिए।

दुलालले ‘मिस्टर नेपाल २०२४’ प्रतियोगितामा ‘बेस्ट पर्सनालिटी’ अवार्डसहित ‘म्यान अफ द वर्ल्ड नेपाल २०२४’ को उपाधि जित्दै अन्तर्राष्ट्रिय मंचमा पुग्ने अवसर पाएका हुन्।

फिलिपिन्समा हुन लागेको प्रतियोगितामा ३५ भन्दा बढी देशका प्रतिनिधिहरू सहभागी हुनेछन्। दुलालले प्रतियोगिताको नेशनल कस्ट्युम राउण्डका लागि नेवारी कला र संस्कृतिलाई झल्काउने विशेष नेपाली पोशाक तयार पारेका छन्। साथै, उनले नेपालको झण्डा अंकित खुकुरी गिफ्टका रूपमा अन्य सहभागीलाई दिने योजना समेत बनाएका छन्।

“प्रतिस्पर्धाको माध्यमबाट सहभागीहरूसँग दाजुभाइको सम्बन्ध बनाउने छु,” दुलालले भने, “नेपालका हिमाल, बुद्ध, र समृद्ध संस्कृतिको वर्णन गर्दै सबैलाई नेपाल भ्रमणको निम्तो पनि दिनेछु।” उनले प्रतियोगितालाई नेपालको संस्कृति प्रचार र पर्यटन प्रवर्द्धनका लागि उत्कृष्ट अवसरका रूपमा उपयोग गर्ने बताए।

प्रतिक्रिया दिनुहोस्