
काठमाडौं, जेठ ९ गते:
श्री चन्द्रविन्दु इन्टरनेसनल बोर्डिङ स्कुल (स्किब्स) को आयोजनामा नवौं स्किब्स कप अन्तरविद्यालय थ्री बाइ थ्री बास्केटबल प्रतियोगिता यही शनिबारदेखि सुरु हुने भएको छ।
शुक्रबार आयोजित पत्रकार सम्मेलनमा स्किब्सका प्रिन्सिपल अरुण केसीले प्रतियोगितामा ४४ विद्यालयका ७५ टिम सहभागी हुने जानकारी दिए। तीमध्ये सिनियर ब्वाइजतर्फ ३२, सिनियर गर्ल्समा १६, जुनियर ब्वाइजमा २३ र स्टाफतर्फ ४ टिम रहनेछन्।
सिनियर ब्वाइज, सिनियर गर्ल्स र जुनियर ब्वाइज समूहको खेल लिग कम नकआउट पद्धतिमा हुनेछ भने स्टाफ समूहको खेल राउन्ड रोविन लिग आधारमा खेलाइनेछ। स्टाफ समूहमा लिग अंकका आधारमा विजेता घोषणा गरिनेछ।
विजेता टिमलाई नगद १० हजार रुपैयाँ र उपविजेतालाई ५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ। अन्य विधाहरूमा भने नगद पुरस्कार नहुने आयोजकले जनाएको छ।
प्रतियोगिता सञ्चालनका लागि करिब १ लाख ५० हजार रुपैयाँ खर्च हुने जानकारी स्किब्सका को–अर्डिनेटर तथा ईसीए इन्चार्ज सागर शर्माले दिएका छन्। दुई दिनसम्म चल्ने प्रतियोगिता आयोजक स्कुलको बसुन्धारास्थित कोर्टमा हुनेछ।





