नेपाललाई भारतीय हक्की संघको खेल सामग्री सहयोग



भारतीय हक्की संघले नेपाल हक्की संघलाई खेल सामग्री हस्तान्तरण गर्दै सहयोग प्रदान गरेको छ। बिहीबार आयोजित कार्यक्रममा संघले ५०० थान हक्की स्टिक, ५०० बल तथा अन्य प्रशिक्षण सामग्री सहयोग स्वरूप प्रदान गरेको हो।

नेपाल हक्की संघकी महासचिव तथा राष्ट्रिय खेलकुद परिषद् (राखेप) की सदस्य सुवर्ण श्रेष्ठले सामग्री सहयोगको जानकारी दिइन्।

भारतीय टोलीमा एसियाली हक्की महासंघका उपाध्यक्ष तथा भारतीय हक्की संघका महासचिव भोलानाथ सिंह, कोषाध्यक्ष सेकर मनोहरण, र प्रबन्ध निर्देशक रविकान्त श्रीवास्तव सहभागी थिए।

टोलीले सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङ, राखेपका उपाध्यक्ष ध्रुव आचार्य र सदस्य–सचिव टंकलाल घिसिङसँग छुट्टाछुट्टै भेटवार्ता गर्दै नेपालको हक्की विकासका सम्भावना, भारतको सहयोग र प्रशिक्षण विषयमा छलफल गरेको थियो।

मन्त्री गुरुङले भारतीय सहयोगप्रति आभार व्यक्त गर्दै भविष्यमा पनि सहयोग निरन्तर रहने विश्वास व्यक्त गरे। भारतीय पदाधिकारीहरूले नेपाली खेलाडीको प्रशिक्षण र हक्कीको विकासमा सक्रिय सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए।

कार्यक्रममा नेपाल हक्की संघका अध्यक्ष अनिलप्रसाद शर्मा, मुख्य प्रशिक्षक रञ्जन थापा लगायतको उपस्थिति थियो।

प्रतिक्रिया दिनुहोस्