
काठमाडौं महानगरपालिका वडा नम्बर ७ को आयोजनामा तेस्रो संस्करणको “वडा अध्यक्ष कप अन्तरविद्यालय फुटबल प्रतियोगिता” जेठ १५ गतेदेखि सुरु हुने भएको छ।
आयोजक वडाका अध्यक्ष विमलकुमार होडाका अनुसार प्रतियोगितामा १६ वटा छात्र टिमले प्रतिस्पर्धा गर्नेछन्। चावहिल स्पोर्ट्स क्लबको प्राविधिक सहयोगमा हुने प्रतियोगिता चावहिलमै सञ्चालन हुनेछ र जेठ २१ गतेसम्म चल्नेछ।
प्रतियोगिताको विजेताले ३० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछ भने उपविजेताले १५ हजार रुपैयाँ पाउनेछ। साथै, सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक र उत्कृष्ट डिफेन्डरलाई जनही २ हजार ५ सय रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ।
गत संस्करणमा एनआईसी एकेडेमी विजेता बनेको थियो भने पहिलो संस्करणमा नोब्सले उपाधि जितेको थियो। प्रतियोगिता सञ्चालनका लागि करिब ३ लाख ५ हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको छ।





