
काठमाडौं, जेठ ८
बंगलादेशको ढाका सहरमा हुने ‘बीकेएसपी जुडो च्याम्पियनसिप’मा सहभागी हुन नेपाली जुडो टोली बिहीबार प्रस्थान गरेको छ। १२ खेलाडीसहित १४ सदस्यीय टोली प्रतियोगितामा सहभागी हुँदैछ, जुन मे २५ र २६ तारिखमा हुने तय गरिएको छ।
टोलीमा ७ पुरुष र ५ महिला खेलाडी छन्। पुरुष खेलाडीतर्फ ४५ केजीमुनि रिवाज लामा तामाङ, ५० केजीमुनि सभर पौडेल, ५५ केजीमुनि बुद्ध गुरुङ, ६० केजीमुनि सविनकुमार दियाली, ६६ केजीमुनि विशेष विक, ७३ केजीमुनि प्रयास तामाङ र ७३ केजीमाथि विज्ञान तिखत्री छन्।
महिला खेलाडीतर्फ ४४ केजीमुनि समिता नेपाली, ४८ केजीमुनि निशा श्रेष्ठ, ५२ केजीमुनि विनिता नेपाली, ५७ केजीमुनि पेमा याङजी शेर्पा र ६३ केजीमुनि रेखा श्रेष्ठ रहेका छन्। सहभागीमध्ये समिता, निशा, विनिता, पेमा र सविन पाम (बन्दी सहायता नियोग) का प्रतिनिधि हुन्।
टोली प्रशिक्षकमा राधादेवी राई र लक्ष्मी तामाङ छन्। राधादेवी प्रतियोगितामा निर्णायकको भूमिका पनि निर्वाह गर्नेछिन्, नेपाल जुडो संघका अध्यक्ष दीपकहर्ष वज्राचार्यले जानकारी दिए। टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले एक कार्यक्रमका बीच बिदाइ गरेका थिए।





