एभरेष्ट कलरको जारी पुँजी वृद्धि, अब सर्वसाधारणका लागि ७ लाख ९० हजार कित्ता आईपीओ आउने



काठमाडौं ।

एभरेष्ट कलर लिमिटेडको विशेष वार्षिक साधारणसभा आज भक्तपुरको कौशलटारस्थित केन्द्रीय कार्यालयमा सम्पन्न भएको छ। सभाले कम्पनीको जारी पुँजी वृद्धि गरी ३० करोड रुपैयाँ पुर्‍याउने निर्णय गरेको छ। अब सो पुँजीको २६.३३ प्रतिशत अर्थात् ७ लाख ९० हजार कित्ता सेयर सर्वसाधारणलाई आईपीओमार्फत रु. १०० प्रतिकित्ता दरले बिक्री गरिनेछ।

यसअघि सम्पन्न वार्षिक साधारणसभाले प्रतिकित्ता ५० रुपैयाँमा आईपीओ ल्याउने प्रस्ताव पारित गरेको भए पनि, आजको विशेष साधारणसभाले त्यसमा संशोधन गर्दै मूल्य दोब्बर गरी पुँजी वृद्धि गर्ने निर्णय लिएको हो।

सभाले कपिल देव महत्तोलाई स्वतन्त्र सञ्चालकका रूपमा नियुक्त गरेको छ। कम्पनीका अध्यक्ष महेश्वर खनालको अध्यक्षतामा सम्पन्न सभाले सञ्चालक समितिले प्रस्तुत गरेका अन्य सामान्य तथा विशेष प्रस्तावहरू पनि पारित गरेको छ।

एभरेष्ट कलर लिमिटेड स्वदेशी युवा उद्यमीहरूको लगानीमा स्थापना भएको कम्पनी हो। कम्पनीले आयात प्रतिस्थापन गर्दै नेपालका भौतिक संरचनामा गुणस्तरीय र नेपाली उत्पादन ‘एभरेष्ट कलर’ प्रयोग गराउने, रोजगारी सिर्जना गर्ने र आन्तरिक राजस्वमा योगदान पुर्‍याउने लक्ष्य लिएको छ। कम्पनीलाई केयर रेटिङ्स नेपाल लिमिटेडले ‘डबल बी माइनस’ (BB-) को रेटिङ दिएको छ।

प्रतिक्रिया दिनुहोस्