सल्लाघारीमा सम्पन्न स्कुल टु ओलम्पिक कार्यक्रम



काठमाडौं, जेठ ७

नेपाल ओलम्पियन्स संघले बुधबार भक्तपुर सल्लाघारीस्थित सैनिक आवासीय महाविद्यालयमा स्कुल टु ओलम्पिक कार्यक्रम सम्पन्न गरेको छ। यो कार्यक्रम यस वर्षको दोस्रो संस्करण हो। पहिलो कार्यक्रम गत साता काभ्रेपलाञ्चोकको साँगास्थित नेपाल पुलिस स्कुलमा आयोजना गरिएको थियो।

स्कुल टु ओलम्पिक कार्यक्रम करिब चार वर्षअघि कर्णालीको सुर्खेतबाट सुरु गरिएको हो। संघले बागमती प्रदेशको युवा तथा खेलकुद मन्त्रालय, प्रदेश खेलकुद विकास परिषद् र सैनिक महाविद्यालयको सहकार्यमा कार्यक्रम सञ्चालन गरेको हो।

कार्यक्रममा ओलम्पियनहरू तथा अन्तर्राष्ट्रिय खेलाडीहरूको उपस्थितिमा सैनिक महाविद्यालयका ३ सयभन्दा बढी विद्यार्थीले सहभागिता जनाएका थिए। ओलम्पियन एथलेटिक्सकी सन्तोषी श्रेष्ठ, सुटिङकी स्नेहराज्यलक्ष्मी राणा, सुस्मिता नेपाल र फुटबल खेलाडी जर्ज प्रिन्स कार्कीले आफ्नो खेल यात्राबारे विद्यार्थीहरूसँग अनुभव साटे।

सुस्मिता नेपालले आफूले ९ कक्षादेखि खेल जीवन सुरु गरेको स्मरण गर्दै इच्छाशक्ति र निरन्तर अभ्यासले मात्र ओलम्पिकसम्म पुग्न सम्भव भएको बताइन्। स्नेहले पारिवारिक समर्थन र प्रेरणाले आफू खेलमा लागेको र नाम भन्दा पनि खेलप्रतिको लगावले सफलता मिलेको उल्लेख गरिन्। सन्तोषीले १२ वर्षको उमेरदेखि खेल्न सुरु गरेको बताउँदै पीडा सहन सक्ने क्षमताले मात्र सफलता प्राप्त हुने धारणा व्यक्त गरिन्। फुटबलर जर्ज प्रिन्सले सौखबाट सुरु गरेको खेल यात्रा पछि निरन्तर लगावले राष्ट्रिय टोलीसम्म पुर्‍याएको बताए।

विद्यार्थीहरूले कार्यक्रममा खेलमा प्रतिभा र मेहनतको भूमिकाबारे, नेपाली खेलकुदले ध्यान दिनुपर्ने पक्षहरू, अभिभावकको सोचमा आएको परिवर्तन तथा नेपालमै खेलेर जीविकोपार्जन सम्भव छ वा छैन भन्ने जस्ता प्रश्न उठाएका थिए, जसको जवाफ खेलाडीहरूले दिएका थिए।

कार्यक्रममा नेपाल ओलम्पियन्स संघका अध्यक्ष दीपक विष्ट, महासचिव राजेन्द्र भण्डारी, सचिव देवु थापा तथा राष्ट्रिय खेलकुद परिषद्का तालिम तथा प्रशिक्षण विभागका उपमहानिर्देशक एवं भलिबल प्रशिक्षक जगदिश भट्टले खेलकुदले व्यक्तिको परिचय विस्तार गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए।

सैनिक महाविद्यालयका प्रिन्सिपल, स्कुल इन्चार्ज तथा अन्य शिक्षकहरूको समेत उपस्थिति रहेको कार्यक्रममा ‘सर्भिस टु सोसाइटी, सर्भिस टु ओलम्पियन’ भन्ने नाराका साथ सञ्चालित स्कुल टु ओलम्पिक कार्यक्रम हालसम्म सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, बागमती र कोशी प्रदेशका १७ स्थानमा सम्पन्न भइसकेको छ। सैनिक महाविद्यालयमा भने यो कार्यक्रम दोस्रो पटक आयोजना गरिएको हो।

प्रतिक्रिया दिनुहोस्