
६ जेठ, काठमाडौं
हिमालयन जाभा बास्केटबल लिग (एचजेबीएल) अन्तर्गत मंगलबार सम्पन्न खेलहरूमा हाउण्ड्स एकेडेमी र टाइम्स बास्केटबल क्लबले शानदार जीत हात पारेका छन्।
कीर्तिपुर कभर्डहलमा भएको पहिलो खेलमा हाउण्ड्सले घरेलु टोली कीर्तिपुर क्लबलाई ८०–६९ ले पराजित गर्यो। खेलको सुरुवातदेखि नै आक्रामक प्रदर्शन गर्दै हाउण्ड्सले पहिलो क्वाटरमा २५–२३, दोस्रोमा २१–९ र तेस्रोमा २०–११ को अग्रता लियो। चौथो क्वाटरमा कीर्तिपुरले २५–१४ को स्कोर गरेपनि हाउण्ड्सको फराकिलो अग्रता कायमै रह्यो।
हाउण्ड्सका विजय बुर्जाले सर्वाधिक ३४ अंक जोडे र ‘मोस्ट भ्यालुएबल प्लेयर’ घोषित भए। कीर्तिपुरका निश्चल महर्जनले २३ अंक स्कोर गरे। यो जितसँगै हाउण्ड्सले ५ खेलमा ९ अंक जोड्दै शीर्ष स्थानमा पकड कायम राखेको छ। कीर्तिपुरले भने ५ खेलमा ७ अंक जोडेको छ।
दोस्रो खेलमा टाइम्स बास्केटबल क्लबले सामाखुशी युथ क्लबलाई ८४–६९ ले हराउँदै तेस्रो जित दर्ता गर्यो। सामाखुशीले पहिलो क्वाटरमा १८–१३ को अग्रता लिएको थियो तर त्यसपछि टाइम्सले उत्कृष्ट पुनरागमन गर्दै दोस्रो क्वाटरमा २७–२१ र तेस्रो क्वाटरमा २७–१२ को स्कोर बनायो। यद्यपि, अन्तिम क्वाटर सामाखुशीले १८–१७ ले जिते पनि समग्रमा टाइम्सले सहज जित दर्ता गर्यो।
टाइम्सका मनिष केसीले २० अंक स्कोर गर्दै ‘मोस्ट भ्यालुएबल प्लेयर’ बने भने सामाखुशीका विक्रम डंगोलले पनि २० अंक जोडे। यो जितसँगै टाइम्सले ८ अंकका साथ लिगको दोस्रो स्थानमा उक्लिएको छ। लगातार पाँचौं हार ब्यहोरेको सामाखुशी ५ अंकसहित तालिकाको अन्तिम स्थानमा छ।





