ढल्को टिम एसकेबिसी तेक्वान्दो प्रतियोगिताको च्याम्पियनकाठमाडौं, जेठ ५



दोस्रो एसकेबिसी बागमती प्रदेश आमन्त्रित तेक्वान्दो प्रतियोगितामा ढल्को तेक्वान्दो डोजाङले टिम च्याम्पियनको उपाधि जितेको छ। टोखा नगरपालिका–५ बसुन्धारास्थित हेराल्ड इन्टरनेसनल कलेजमा सम्पन्न प्रतियोगितामा ढल्कोले ७ स्वर्ण, ५ रजत र ३ कास्य पदक जित्दै शीर्ष स्थान हात पारेको हो।

आयोजक एसकेबिसी तेक्वान्दो क्लबले ५ स्वर्ण, ३ रजत र १० कास्य पदक जित्दै दोस्रो स्थान हासिल गर्‍यो भने तेस्रो स्थानमा बालाजु तेक्वान्दो डोजाङ रह्यो, जसले ४ स्वर्ण, ३ रजत र ६ कास्य पदक जित्यो।

पुरुषतर्फ जैशीदेवल तेक्वान्दो डोजाङका रावलहाङ लिम्बू र महिलातर्फ गोर्खाली तेक्वान्दो डोजाङकी प्रतिमा भुजेल उत्कृष्ट खेलाडी घोषित भए। यस्तै, उत्कृष्ट प्रशिक्षकको रूपमा एसकेबिसीका सुवास बोहरा र उत्कृष्ट निर्णायकको रूपमा कुमार लावत चयन भए। उत्कृष्ट खेलाडी, प्रशिक्षक र निर्णायकलाई ओप्पो मोबाइल पुरस्कारस्वरूप प्रदान गरिएको थियो।

विजेताहरूलाई टोखा नगरपालिका वडा नं. ५ का अध्यक्ष मदन गुरुङले एक समारोहबीच पुरस्कृत गरे। कार्यक्रममा अध्यक्ष गुरुङले प्रतियोगितालाई निरन्तरता दिन नगरपालिका बजेट विनियोजन गर्ने प्रतिबद्धता जनाउँदै खेलकुदमार्फत समाजलाई सकारात्मक दिशातर्फ डो¥याउन सकिने विश्वास व्यक्त गरे।

मुख्य प्रायोजक टोखा नगरपालिका रहेको प्रतियोगितामा बागमती प्रदेशका विभिन्न जिल्लाबाट १८ वटा डोजाङ तथा क्लबका करिब ५०० जना सिनियर र जुनियर खेलाडीले सहभागिता जनाएका थिए। प्रतियोगिता संयोजक तथा एसकेबिसीका मुख्य प्रशिक्षक रञ्जित डंगौराका अनुसार प्रतियोगितालाई हरेक वर्ष नियमित रूपमा आयोजना गर्ने लक्ष्य रहेको छ।

प्रतिक्रिया दिनुहोस्