युएस वर्ल्ड क्लास तेक्वान्दो हलिउडको तीसौँ वार्षिकोत्सव भव्य रूपमा सम्पन्न



अमेरिकामा नेपालीद्वारा स्थापित पहिलो तेक्वान्दो स्कुल ‘युएस वर्ल्ड क्लास तेक्वान्दो हलिउड’ ले आफ्नो ३०औं वार्षिक उत्सव धूमधामका साथ सम्पन्न गरेको छ। सन् १९९५ मा ग्राण्ड मास्टर दिवाकर महर्जनले पोर्टल्याण्डमा स्थापना गरेको उक्त स्कुलले तीन दिने विशेष कार्यक्रम आयोजना गरेको थियो।

कार्यक्रम युनिभर्सल युनाइटेड नेप्लिज तेक्वान्दो फेडरेशनको सहयोगमा सम्पन्न भएको हो। कोरियाली ग्राण्ड मास्टर मिन हक सेडले शुक्रवार र शनिवार चार सेमिनार सञ्चालन गरे भने आइतबार पनि एक सेसन लिने कार्यक्रम रहेको छ। सेमिनारमा अस्ट्रेलियासहित अमेरिका भरिका आठ राज्यबाट प्रशिक्षकहरू सहभागी भएका थिए।

शनिवारको विशेष कार्यक्रममा विभिन्न महिनामा उत्कृष्ट घोषित खेलाडीहरूलाई ट्रफी प्रदान गरियो। मार्चदेखि जुलाईसम्मका उत्कृष्ट खेलाडीलाई अध्यक्ष लभ गोर्खालीले सम्मान गरे भने अक्टोबर २०२४ देखि अप्रिल २०२५ सम्मका खेलाडीलाई ओलम्पियन विधान लामाले ट्रफी प्रदान गरे।

कार्यक्रममा ग्राण्ड मास्टर मिन हक सेड, नेपाली तेक्वान्दोका पिता जे के शिन, तथा अन्य विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। प्रशिक्षक र खेलाडीहरूको सांगीतिक तथा नृत्य प्रस्तुतीले कार्यक्रमलाई थप आकर्षक बनाएको थियो।

ग्राण्ड मास्टर महर्जनले तीन दशकसम्म साथ दिने सबैलाई धन्यवाद दिँदै कार्यक्रमको सुरुवात गरे। फेडेरेसनद्वारा ओलम्पियन विधान लामा, ग्राण्ड मास्टर दिवाकर महर्जन र मिनु महर्जनलाई विशेष सम्मान पत्र प्रदान गरिएको थियो।

कार्यक्रमको सञ्चालन प्रशिक्षक विकास घले गुरुङले गरेका थिए।

प्रतिक्रिया दिनुहोस्