एचजेबीएलमा रोएल्सको दोस्रो जित, सामाखुशीको लगातार चौथो हार



हिमालयन जाभा बास्केटबल लिग (एचजेबीएल) मा रोएल्सले दोस्रो जित दर्ता गरेको छ। आइतबार कीर्तिपुर कभर्डहलमा भएको खेलमा रोएल्सले सामाखुशी युवा क्लबलाई ९३–८३ ले पराजित गर्दै लिगमा आफ्नो प्रभाव जमाएको हो।

खेलको सुरुवातदेखि नै अग्रता लिएको रोएल्सले त्यो स्थिति अन्तिमसम्म कायम राख्दै जित सुनिश्चित गर्‍यो। यो जितसँगै रोएल्सले चार खेलबाट ६ अंक जोडेको छ भने सामाखुशीले भने लगातार चौथो पराजय भोगेको छ।

खेलको पहिलो क्वाटरमा रोएल्सले १८–१७ को झिनो अग्रता लिएको थियो। दोस्रो क्वाटरमा २८–१९ को फराकिलो अन्तर बनाउँदै हाफटाइमसम्म ४६–३६ को अग्रता बनायो। तेस्रो क्वाटरमा सामाखुशीले २४–२१ को स्कोर गर्दै खेलमा फर्कने प्रयास गरे पनि अन्तिम क्वाटरमा रोएल्सले २६–२३ ले आफ्नो पक्षमा पार्दै जित हात पारेको हो।

रोएल्सका लागि प्रसाङध्वज मास्केले सर्वाधिक २८ अंक जोड्दै ‘मोस्ट भ्यालुएबल प्लेयर’ को उपाधि प्राप्त गरे। सामाखुशीका तर्फबाट विक्रम डंगोलले २० अंक स्कोर गरे।

प्रतिक्रिया दिनुहोस्