
जेठ ४
भ्याली पब्लिक स्कूलले आठौं बीएनए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा दोहोरो उपाधि जितेको छ। बसुन्धरास्थित बसुन्धरा नेसनल एकेडेमी (बीएनए) मा आइतबार भएको फाइनलमा भ्याली पब्लिकले जुनियर ब्वाइज र सिनियर गल्र्स दुवै विधामा च्याम्पियन बन्यो।
जुनियर ब्वाइजको फाइनलमा भ्याली पब्लिकले न्युटनलाई ३५–३० ले हरायो। भ्यालीका आर्यन गुरुङले १२ अंक जोडे। लालीगुराँस तेस्रो भयो। सिनियर गल्र्समा भ्याली पब्लिकले ग्रिनल्यान्डलाई ३६–२० ले पराजित गर्यो। लोरिशा गौचनले १२ अंक बटुलिन्। फेरिल्यान्ड तेस्रो स्थानमा रह्यो।
जुनियर ब्वाइजमा रियान शेरचन र सिनियर गल्र्समा लोरिशा गौचन ‘मोस्ट भेलुएबल प्लेयर’ चुनिए। लालीगुराँसका साहिद पुन र फेरिल्यान्डकी रेणुका तामाङ सर्वाधिक स्कोरकर्ता बने। न्युटनका आशिष पुन र ग्रिनल्यान्डकी बिहानी राई उत्कृष्ट ‘थ्री प्वाइन्टर’ घोषित भए। जुनियर गल्र्समा क्यान्भास बसन्त ऋतु र सिनियर गल्र्समा केभीकेएसएस उदीयमान टिम ठहरिए।
विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष ध्रुव आचार्य, बीएनएका प्रिन्सिपल टंककुमार चापागाईंलगायतले पुरस्कृत गरे। वैशाख ३० देखि सुरु भएको प्रतियोगितामा जुनियर ब्वाइज र सिनियर गल्र्समा १२–१२ टिमले भाग लिएका थिए।





