एचजेबीएल : हाउण्ड्सको अपराजित यात्रा गोल्डेनगेटले तोड्यो



३ जेठ, काठमाडौं ।

हिमालयन जाभा बास्केटबल लिग (एचजेबीएल) मा गोल्डेनगेट बास्केटबल क्लबले हाउण्ड्स एकेडेमीको अपराजित यात्रा अन्त्य गराएको छ।

शनिवार कीर्तिपुर कभर्डहलमा भएको अत्यन्तै प्रतिस्पर्धात्मक तथा रोमाञ्चक खेलमा गोल्डेनगेटले हाउण्ड्सलाई ७९–७५ ले पराजित गर्दै महत्वपूर्ण जित दर्ता गर्‍यो।

खेलको पहिलो क्वाटर हाउण्ड्सले २०–१६ को अग्रता लिँदै आफ्नो पक्षमा पारेको थियो। तर दोस्रो क्वाटरमा गोल्डेनगेटले २५–२१ को स्कोरसहित खेलमा पुनरागमन गर्‍यो। हाफ टाइमसम्म स्कोर ४१–४१ को बराबरीमा पुग्यो। तेस्रो क्वाटरमा हाउण्ड्सले १९–१८ को झिनो अग्रता बनाए पनि अन्तिम क्वाटरमा गोल्डेनगेटले २०–१५ ले खेल आफ्नो पक्षमा पार्दै जित सुनिश्चित गर्‍यो।

गोल्डेनगेटका लागि अभिषेक सिंहले २४ अंक जोडे र उनी खेलको मोस्ट भ्यालुएबल प्लेअर घोषित भए। हाउण्ड्सका तर्फबाट बिजय बुर्जाले सर्वाधिक २५ अंक बनाए।

यो जितसँगै गोल्डेनगेटले चार खेलमा तीन जित र एक हारसहित ७ अंक बनाएको छ। पहिलो हार बेहोरेको हाउण्ड्सको पनि समान ७ अंक नै छ।

यसैदिन लिगको पहिलो खेलमा टाइम्स बास्केटबल क्लबले कीर्तिपुर क्लबलाई ७६–७२ ले हरायो। टाइम्सले सुरुआती तीन क्वाटरहरू—२१–१९, २५–२१, १८–१२ मा अग्रता बनाएको थियो। कीर्तिपुरले चौथो क्वाटरमा २०–१२ को स्कोर गर्दै फर्कने प्रयास गरे पनि अन्तिम समयमा टाइम्सलाई रोक्न सकेन।

टाइम्सका कप्तान सदिश प्रधानले २२ अंक जोडे र खेलको मोस्ट भ्यालुएबल प्लेअर घोषित भए। कीर्तिपुरका सयुन राईले २३ अंक बनाए।

यो टाइम्सको लिगमा दोस्रो जित हो। चार खेलमा दुई जित र दुई हारसहित टाइम्सले ६ अंक बनाएको छ। सुरुवाती दुई खेल जितेको कीर्तिपुरले लगातार दुई खेल गुमाउँदै समान ६ अंकमा सीमित भएको छ।

प्रतिक्रिया दिनुहोस्