नेपालले पहिलो दिन ८ स्वर्ण जित्दै अग्रता कायम गर्‍यो



नेपाल कराते महासंघको तत्वावधानमा नेपाल सितोरियो कराते संघको २६औँ वार्षिकोत्सवको अवसरमा आयोजना गरिएको ११औँ सगरमाथा अन्तर्राष्ट्रिय कराते प्रतियोगिता पनि शनिबारदेखि नक्सालस्थित शाखा डोजोमा सुरु भएको छ।

नेपाल, भारत, बंगलादेश र कतारसहितका देशहरूको सहभागिता रहेको प्रतियोगिताको उद्घाटन पूर्व अर्थमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले गरे। उनले उद्घाटन समारोहमा खेलकुदले राष्ट्रलाई एकताबद्ध गर्दै भाइचाराको सन्देश फैलाउने बताए।

कार्यक्रममा नेपाल कराते महासंघका महासचिव तथा नेपाल सितोरियो संघका अध्यक्ष दावा गुरुङ, कतारका क्योसी मिर्जा अली वेग, भारतका सोके सैयद, रमेश भडाङ्गे, अमे लस्करी, मो. ओराङ्गेवाज, र बंगलादेशका मो. जहिरुल इस्लाम लगायतको उपस्थिति थियो। कार्यक्रम संयोजक गजेन्द्रबहादुर खपाँगी ‘ईश्वर’को सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो।

प्रतियोगिताको पहिलो दिन १५ स्वर्ण पदकको टुंगो लाग्दा नेपालले ८, भारतले ६ र बंगलादेशले १ स्वर्ण पदक जितेका छन्। नेपालको तर्फबाट आयु तामाङ, अमृना तामाङ, ओस्विना तामाङ, प्रविधी थापा, स्वरनिमा सिंह ठकुरी, अनमोल मगर र दीक्षा तामाङले स्वर्ण पदक जिते। भारतका युग वालागी, भगत सरत शर्मा, अव्रुनी, तेजस मलिक, जयन्त वागरकार र माही धारुले स्वर्ण जित्दा, बंगलादेशका दवरोटो चक्रवर्तीले सिनियर पुरुष कातामा स्वर्ण पदक जितेका हुन्।

प्रतियोगिता आइतबारसम्म कराते एकेडेमी हल, सातदोबाटोमा सञ्चालन हुनेछ। कुल ६१ स्वर्ण पदकका लागि प्रतिस्पर्धा भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्