
काठमाडौं, जेठ ३ – टोखा नगरपालिकाको बसुन्धारास्थित हेराल्ड इन्टरनेशनल कलेजमा दोस्रो एसकेबीसी वाग्मती प्रदेश आमन्त्रित तेक्वान्दो प्रतियोगिता शनिबारदेखि सुरु भएको छ।
एसकेबीसीको आयोजनामा तथा टोखा नगरपालिकाको मुख्य प्रायोजनमा आयोजित प्रतियोगिताको उद्घाटन टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारी र प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर बिसीले संयुक्त रूपमा गरे।
उद्घाटन समारोहमा बोल्दै मेयर अधिकारीले तेक्वान्दो खेलको विकास र प्रवर्द्धनमा नगरपालिकाले सधैं साथ दिने प्रतिबद्धता व्यक्त गरे। उनले टोखाभित्र रहेका सम्पूर्ण खेलाडीहरूको हकहितका लागि नगरपालिकाले आवश्यक सहयोग पुर्याउने बताए।

कार्यक्रममा न्यूज २४ टेलिभिजनका कार्यक्रम सिधा कुरा जनतासँग का प्रस्तोता एवं पत्रकार बिरेन्द्र जैरुलाई विशेष सम्मान गरिएको थियो।
प्रतियोगितामा १० वर्ष, १२ वर्ष, १४ वर्ष र १७ वर्षमुनिका पुम्से विधाका विजेता तथा १३ वर्षमुनिका गेरोगी विधाका विजेता खेलाडीहरूलाई पदक प्रदान गरिएको छ। प्रतियोगितामा वाग्मती प्रदेशका १३ जिल्लाबाट ५०० भन्दा बढी सिनियर तथा जुनियर खेलाडीहरूको सहभागिता रहेको आयोजकले जनाएको छ।
सह–आयोजक वाग्मती प्रदेश तेक्वान्दो संघ रहेको प्रतियोगिता आइतबारसम्म चल्नेछ। विजेता खेलाडीहरूलाई मेडल, ट्रफी, प्रमाणपत्रसहित उत्कृष्ट महिला तथा पुरुष खेलाडी, प्रशिक्षक र निर्णायकलाई ओप्पो मोबाइल फोनसहित सम्मान गरिनेछ, एसकेबीसीका मुख्य प्रशिक्षक रञ्जित डंगौराले जानकारी दिए।





