
नेपाल ओलम्पियन्स संघको ‘स्कुल टु ओलम्पिक’ कार्यक्रम यस वर्ष पनि सुरु भएको छ। कर्णालीको सुर्खेतबाट झन्डै ४ वर्षअघि सुरु गरिएको यो कार्यक्रम हाल काभ्रेपलाञ्चोकको साँगास्थित नेपाल पुलिस स्कुलमा आयोजित भयो।
बागमती प्रदेश युवा तथा खेलकुद मन्त्रालय र प्रदेश खेलकुद विकास परिषद्को सहकार्यमा कार्यक्रम सम्पन्न भयो। कार्यक्रममा ओलम्पियन तथा अन्तर्राष्ट्रिय खेलाडीहरू — एथलेटिक्सकी सन्तोषी श्रेष्ठ, जुडोकी मनिता श्रेष्ठ, ब्याडमिन्टनका प्रिन्स दाहाल र भलिबलकी उषा भण्डारीले आफ्नो अनुभव विद्यार्थीहरूसँग साझा गरे।

प्रिन्सले पुलिस स्कुलमै अध्ययन गर्दा आफ्ना बुवाको प्रेरणाले ब्याडमिन्टन सुरु गरेको बताए। उषाले बुवाको करले भलिबल थालेपनि पछि त्यसैमा रमाउन थालेको बताइन्। मनिताले होस्टेल बसाइको क्रममा जुडोमा रुचि बढ्दै गएको र गुरुको सपना पूरा गर्ने क्रममा ओलम्पिक पुगेको बताइन्। सन्तोषीले १२ वर्षदेखि खेल यात्रा सुरु गरेको बताउँदै, पीडा सहन सक्ने क्षमताले मात्र सफलता सम्भव हुने बताइन्।
विद्यार्थीहरूले खेल र पढाइलाई कसरी सँगसँगै अघि बढाउने भन्ने जिज्ञासामा सन्तोषीले भने, “समय अनुसार प्राथमिकता तोकी खेल र पढाइ दुबैमा सन्तुलन ल्याउन सकिन्छ।”
कार्यक्रममा कराते, तेक्वान्दो, जुडो र जिम्न्यास्टिकका खेलाडीहरूले डेमो प्रदर्शन र नृत्य प्रस्तुत गरेका थिए। ओलम्पियन्स संघका अध्यक्ष दीपक विष्ट, महासचिव राजेन्द्र भण्डारी, सचिव देवु थापा, र स्कूलका प्रिन्सिपल तथा इन्चार्जको उपस्थिति रहेको कार्यक्रममा संघले विद्यालयलाई खेल सामग्री पनि हस्तान्तरण गरेको थियो।
‘सर्भिस टु सोसाइटी, सर्भिस टु ओलम्पियन’ नारासहित सुरु भएको यो कार्यक्रम हालसम्म सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, बागमती र कोशीका १६ स्थानमा सम्पन्न भइसकेको छ। पुलिस स्कुलमा यो कार्यक्रम दोस्रो पटक आयोजना गरिएको हो।





