
काठमाडौं, जेठ ३ – आठौं बीएनए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइज तर्फ न्युटन र भ्याली पब्लिक शनिबार फाइनलमा प्रवेश गरेका छन्।

न्युटनले लालीगुराँस नेसनल एकेडेमीलाई ३९–२० को स्पष्ट अन्तरले पराजित गर्यो। जितमा आशिष राईले ११ अंकको योगदान दिए। प्रशिक्षक नारायण खवासका अनुसार यो पहिलो पटक जुनियर ब्वाइजमा न्युटन फाइनल पुगेको हो।
त्यस्तै, भ्याली पब्लिकले अशोक विकको २३ अंकको मद्दतमा ग्रिनल्यान्डलाई ३१–२७ ले पराजित गर्दै फाइनलमा स्थान बनायो।
यसै प्रतियोगिताको सिनियर गल्र्स तर्फ भ्याली पब्लिक र ग्रिनल्यान्ड उपाधिका लागि भिड्ने छन्। भ्याली पब्लिकले फेरिल्यान्डलाई ३४–२८ ले हरायो। लोरिशा गौचनले टोलीका लागि १३ अंक जोडिन्। अर्कोतर्फ, ग्रिनल्यान्डले केभीकेएसएसलाई ३८–२७ ले पन्छायो, जसमा आहाना खड्काले १५ अंक गरिन्।





