नेपाल दूरसञ्चार राष्ट्रिय कर्मचारी संगठनको १२औं महाधिवेशन भव्य रूपमा सम्पन्न




नवीनतम प्रविधिमा समृद्ध संस्था, असल श्रम सम्बन्ध आजको आवश्यकता भन्ने मूल नारासहित कार्यक्रम सम्पन्न

भक्तपुर, जेष्ठ २ —
नेपाल दूरसञ्चार राष्ट्रिय कर्मचारी संगठन (NTEAN) को १२औं महाधिवेशन २०८२ साल जेष्ठ १ र २ गते भक्तपुरको बोडे स्थित कृषि विकास बैंकको केन्द्रीय प्रशिक्षण केन्द्रमा “नवीनतम प्रविधिमा समृद्ध संस्था, असल श्रम सम्बन्ध आजको आवश्यकता” भन्ने मूल नाराका साथ भव्य रूपमा सम्पन्न भएको छ।

महाधिवेशनको उद्घाटन कार्यक्रम नेपाल सरकारका पूर्व सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा नेकपा एमालेका महासचिव श्री शंकर पोखरेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। कार्यक्रममा नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा पेशागत इन्चार्ज श्री रामेश्वर फुयाल, पेशागत महासंघ नेपालका अध्यक्ष श्री पूण्य प्रसाद ढकाल, नेपाल टेलिकमकी प्रबन्ध निर्देशक श्रीमती संगीता पहाडी अर्याल र संचालक सदस्य श्री लोकबहादुर कटुवाल विशेष अतिथि रूपमा सहभागी भएका थिए।

उद्घाटन समारोहमा प्रमुख तथा विशेष अतिथिहरूले संगठनको निरन्तर सक्रियताबारे चर्चा गर्दै कर्मचारी, कम्पनी तथा सेवाग्राहीबीच सुदृढ सम्बन्ध कायम गर्न संगठनले खेलेको भूमिकाको सराहना गरे। समारोहमा कम्पनीमा क्रियाशील अन्य ट्रेड युनियन प्रतिनिधिहरूले पनि शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

७७ वटै जिल्लाका केन्द्रीय समिति, विभागीय, प्रादेशिक, इकाई तथा सम्पर्क समितिबाट प्रतिनिधिहरूको सहभागिता रहेको महाधिवेशनमा संगठनले विगतमा पुर्‍याएको योगदानको समीक्षा गर्दै आगामी कार्यदिशा निर्धारण सम्बन्धमा गहन छलफल गरिएको थियो।

महाधिवेशनबाट श्री मणिकुमार पोखरेलको अध्यक्षतामा ४१ सदस्यीय नयाँ केन्द्रीय समिति निर्वाचित गरिएको छ। नव-निर्वाचित पदाधिकारीहरूमा वरिष्ठ उपाध्यक्ष श्री आनन्द पौडेल, उपाध्यक्षहरू श्री राजकिशोर चौधरी, श्री प्रकाश शर्मा, श्री जगतप्रसाद भुसाल, श्री छबीलाल न्यौपाने, श्री सृजना सापकोटा, महासचिव श्री गोबिन्द ढुंगाना, उपमहासचिवहरू श्री बचन ढुंगेल र श्री दीपक चौलागाईं, सचिवहरू श्री रोशन पाण्डे, श्री कमल खत्री, श्री सावित्रा भट्टराई, कोषाध्यक्ष श्री मेघराज पोखरेल, सह-कोषाध्यक्ष श्री शालिकराम आचार्यसहित विभिन्न विभागका सदस्यहरू रहेका छन्।

महाधिवेशनमा टेलिकम कम्पनीको समसामयिक अवस्था, कर्मचारीहरूको वृत्तिविकास, सेवा सुविधाको सुधार तथा कम्पनीको व्यावसायिकता अभिवृद्धिका विषयमा विस्तृत छलफल गर्दै संगठन अझ सशक्त रूपमा क्रियाशील हुने प्रतिबद्धता गरिएको छ। यसै सन्दर्भमा १४ बुँदे प्रस्ताव पारित गरिएको छ।

महाधिवेशनको सफलतामा योगदान दिने प्रमुख, विशेष तथा आम अतिथिहरू, सहभागी प्रतिनिधि, पर्यवेक्षक, स्वयंसेवक, पत्रकार, सहआयोजक बागमती प्रादेशिक समिति, निवर्तमान पदाधिकारी तथा कार्यक्रम सम्पन्न गर्न सहयोग पुर्‍याउने कृषि विकास बैंक केन्द्रीय प्रशिक्षण केन्द्र लगायत सबै सहयोगीप्रति संगठनले हार्दिक धन्यवाद ज्ञापन गरेको छ।

प्रतिक्रिया दिनुहोस्