
काठमाडौं, जेठ २ – आठौं बीएनए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गल्र्सतर्फ फेरिल्यान्ड र केभीकेएसएस शुक्रबार सेमिफाइनलमा प्रवेश गरेका छन्।
आयोजक बसुन्धरा नेसनल एकेडेमी (बीएनए) को कोर्टमा फेरिल्यान्डले न्युटनलाई ३०–२५ ले पराजित गर्यो। फेरिल्यान्डका लागि रेणुका तामाङले ९ अंक जोडिन्। यस्तै, खुशी मितोकको १६ अंकको उत्कृष्ट प्रदर्शनमा केभीकेएसएसले लालीगुराँस नेसनल एकेडेमीलाई २५–२० ले हराउँदै अन्तिम चारमा स्थान बनायो।

सिनियर गल्र्सकै अन्य खेलमा भ्याली पब्लिकले जेबी स्कुललाई ३९–२२ तथा ग्रिनल्यान्डले टीआईएलाई ४६–२९ ले हराउँदै सेमिफाइनल यात्रा तय गरे। भ्याली पब्लिककी लोरिशा गौचनले १५ अंक तथा ग्रिनल्यान्डकी प्रियंका चन्दले २३ अंक स्कोर गरिन्।
अब सेमिफाइनलमा ग्रिनल्यान्डको भेट केभीकेएसएससँग र भ्याली पब्लिकको प्रतिस्पर्धा फेरिल्यान्डसँग हुनेछ।
जुनियर ब्वाइजतर्फ पनि सेमिफाइनल तय
जुनियर ब्वाइजतर्फ न्युटनले स्किब्सलाई २९–१९, भ्याली पब्लिकले गोल्डेनपिकलाई ४१–४०, ग्रिनल्यान्डले पारामाउन्ट एकेडेमीलाई २७–२२ र लालीगुराँसले क्यान्भास बसन्त ऋतुलाई ३३–१७ ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाए।
न्युटनका आशिष राईले १२, भ्याली पब्लिकका विधान भण्डारीले १६, ग्रिनल्यान्डका आशुतोष बोहराले ९ र लालीगुराँसका प्राण मल्लले ९ अंक जोडे।
जुनियर ब्वाइजको सेमिफाइनल शनिबार हुनेछ, जसमा भ्याली पब्लिकको सामना ग्रिनल्यान्डसँग र न्युटनको भिडन्त लालीगुराँससँग हुनेछ।
मिस्टर महानगर शारीरिक सुगठन प्रतियोगिता सम्बन्धी पत्रकार सम्मेलन
काठमाडौं महानगरपालिका वडा नं. २२ को आयोजनामा हुने प्रथम ‘मिस्टर महानगर शारीरिक सुगठन प्रतियोगिता’ सम्बन्धी जानकारी दिन पत्रकार सम्मेलन आयोजना गरिनेछ।
मिति: २०८२ साल जेठ ३ गते, शनिबार
समय: बिहान ९ः०० बजे
स्थान: होटल यल्लो प्यागोडा, कान्तिपथ





