
काठमाडौं, जेठ २ – नेपाली कांग्रेसका उपसभापति तथा पूर्वमन्त्री धनराज गुरुङले वन क्षेत्र संरक्षण मात्र गरेर देशको समृद्धि हासिल नहुने बताएका छन्।
शुक्रबार प्रतिनिधिसभामा बजेटको सिद्धान्त र प्राथमिकता (कर प्रस्ताव बाहेक) सम्बन्धमा छलफलमा भाग लिँदै गुरुङले ४६ प्रतिशत भूभाग वन क्षेत्र रहेको नेपालमा काठ विदेशबाट आयात गर्नु विडम्बनापूर्ण भएको टिप्पणी गरे।
“नेपालको ४६ प्रतिशत भूभाग वन छ, तर हामी काठ विदेशबाट आयात गर्छौं,” उनले भने, “अब यो प्रवृत्तिको अन्त्य हुनुपर्छ। हामीले नेपालको वन स्रोतको उपयोग गर्ने नीति बनाउनु पर्छ।”
उनले नेपालमा ७ सयभन्दा बढी औषधिजन्य जडीबुटी पाइने तथ्य उल्लेख गर्दै यसको खेतीलाई सरकारले नीति तथा कार्यक्रममार्फत समेट्नुपर्ने धारणा राखे।
“मैले सधैं औषधिजन्य जडीबुटीको खेती गरौं भनेको छु, तर हालको नीति तथा कार्यक्रममा पनि यो विषय समेट्न सकिएन,” गुरुङले भने।
स्रोत साधनको भरपुर उपयोग नगरी केवल ‘पैसा छैन’ भन्दै बस्ने प्रवृत्तिले देशको विकास नहुने उनले स्पष्ट पारे। उनले जडीबुटी खेती र वन स्रोतको सही उपयोगतर्फ गम्भीर बन्न सबैलाई आग्रह गरे।





