
काठमाडौं, जेठ १ –
आठौं बीएनए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजतर्फ न्युटन र ग्रिनल्यान्ड क्वार्टरफाइनलमा प्रवेश गरेका छन्। बिहीबार भएको खेलमा न्युटनले गोल्डेनपिकलाई २८–२७ को झिनो अन्तरले पराजित गर्दा न्युटनका सविन राईले ८ अंक जोडे।
त्यस्तै, ग्रिनल्यान्डले एन्जल्स हार्टलाई २६–२२ ले हराउँदै अन्तिम आठमा स्थान सुरक्षित गर्यो। ग्रिनल्यान्डका राहुल तामाङले १० अंक जोडे।
अन्य खेलमा पारामाउन्टले क्यान्भास बसन्त ऋतुलाई २५–१८ तथा भ्याली पब्लिकले आयोजक बीएनएलाई ४७–३५ ले पराजित गर्दै क्वार्टरफाइनलमा प्रवेश गरेका छन्। पारामाउन्टका सुशन थापाले ५ अंक, भ्याली पब्लिकका अशोक विकले २३ अंक जोडे।
अब क्वार्टरफाइनल खेलहरू लालीगुराँस नेसनल एकेडेमी बनाम क्यान्भास, पारामाउन्ट बनाम ग्रिनल्यान्ड, भ्याली पब्लिक बनाम गोल्डेनपिक तथा न्युटन बनाम स्किब्सबीच हुनेछ।






