एसकेबीसी वाग्मती प्रदेश आमन्त्रित तेक्वान्दो प्रतियोगिता



राष्ट्रिय खेलकुद परिषद्को “राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद” भन्ने नारालाई व्यवहारमा उतार्ने उद्देश्यसहित २०७८ मा स्थापित श्री समाज खेलकुद विकास क्लब (एसकेबीसी) निरन्तर तेक्वान्दो खेल र समग्र खेलकुद क्षेत्रको विकासमा सक्रिय रहेको छ। क्लबले हालसम्म विभिन्न स्तरका सफल खेलकुद प्रतियोगिताहरू आयोजना गरिसकेको छ।

यस क्रममा, क्लबले आगामी २०८२ जेठ ३ र ४ गते हेराल्ड इन्टरनेशनल कलेज, बसुन्धारा काठमाडौंमा “दोस्रो एसकेबिसी वाग्मती प्रदेश आमन्त्रित तेक्वान्दो प्रतियोगिता – २०८२” आयोजना गर्न लागेको छ। प्रतियोगिताको मुख्य प्रायोजक टोखा नगरपालिका रहनेछ भने वाग्मती प्रदेश तेक्वान्दो संघ सह–आयोजक र प्राविधिक सहयोगीको रूपमा रहनेछ। यस प्रतियोगितामा वाग्मती प्रदेशका १३ जिल्लाबाट ५ सयभन्दा बढी महिला तथा पुरुष खेलाडीहरू ३६ स्वर्ण पदकका लागि प्रतिस्पर्धा गर्नेछन्।

प्रतियोगिताको मुख्य उद्देश्य स्वस्थ प्रतिस्पर्धा, अनुशासन, आत्मविश्वासको विकास र खेलकुदमार्फत सामाजिक एकता र भाइचाराको प्रवद्र्धन गर्नु हो। उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई मेडल, ट्रफी, प्रमाणपत्र र खेलकुद सामग्रीहरू प्रदान गरिनेछ। साथै, विशेष योगदान गर्ने महिला र पुरुष खेलाडी, प्रशिक्षक र निर्णायकलाई ओप्पो मोबाइल दिएर सम्मानित गरिनेछ।

प्रतियोगिताको अनुमानित खर्च १५ लाख रुपैयाँ रहेको छ र यसको व्यवस्थापनका लागि विभिन्न संघसंस्था, निकाय र खेलप्रेमीहरूको सहयोगको अपेक्षा गरिएको छ। यस प्रतियोगितामा सबै खेलप्रेमी, अभिभावक, सञ्चारकर्मी, समाजसेवी र सरोकारवालालाई आमन्त्रण गरिएको छ।

प्रतिक्रिया दिनुहोस्