नेपाल टेलिकमले लाङटाङ-क्यान्जिन पदमार्गमा 4G सेवा विस्तार गर्यो



काठमाडौँ, बैशाख ३१ –

नेपाल टेलिकमले रसुवा जिल्लाको उच्च हिमाली क्षेत्र अन्तर्गत पर्ने लाङटाङ–क्यान्जिन पदमार्गमा 4G मोबाइल सेवा विस्तार गरेको छ। पर्यटन र स्थानिय बासिन्दालाई लक्षित गर्दै सञ्चालन गरिएको यस सेवाबाट अब दूरसञ्चार सेवा अझ सहज र प्रभावकारी हुने कम्पनीले जनाएको छ।

नेपालकै प्रसिद्ध एवम् सुन्दर पदयात्रा गन्तव्यहरूमध्ये एक मानिने लाङटाङ-क्यान्जिन पदमार्ग काठमाडौँदेखि सबैभन्दा नजिकको हिमाली पदमार्गको रुपमा परिचित छ। समुद्री सतहबाट करिब ३८०० मिटरको उचाइमा रहेको क्यान्जिन उपत्यकामा नयाँ बिटिएस (BTS) टावर जडान गरी सेवा विस्तार गरिएको हो।

गोसाइँकुण्ड गाउँपालिका–४ अन्तर्गत पर्नेको साथै स्याफ्रुबेशीबाट करिब दुई दिनको पैदल यात्रामा पुगिने क्यान्जिन उपत्यका स्वदेशी तथा विदेशी पर्यटकहरूको लागि एक आकर्षक गन्तव्य हो। लाङटाङ राष्ट्रिय निकुञ्जभित्र पर्ने यस क्षेत्रको प्राकृतिक, सांस्कृतिक र भौगोलिक विविधताको अनुभव अब पर्यटकहरूले आफ्ना प्रियजनसँग प्रत्यक्ष साटासाट गर्न सक्नेछन्।

नेपाल टेलिकमका सह-प्रवक्ता नविन कुमार मिश्रका अनुसार, 4G सेवा विस्तारसँगै स्थानीय बासिन्दा, पर्यटक तथा पर्यटन व्यवसायीहरूलाई दूरसञ्चार सेवाबाट उल्लेखनीय लाभ पुग्ने विश्वास कम्पनीले लिएको छ।

– समाप्त –

प्रतिक्रिया दिनुहोस्