
काठमाडौं, २०८२ वैशाख २८
दिव्येश्वरी जग्गा एकीकरण आयोजना, भक्तपुरमा कार्यरत उपत्यका विकास प्राधिकरणका सव-इन्जिनियर कुमार पौड्यालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको आरोपमा विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ। आयोगले पौड्यालले तीन करोड ६३ लाख रुपैयाँभन्दा बढीको गैरकानुनी सम्पत्ति आर्जन गरेको ठहर गर्दै कैद, जरिवाना र सम्पत्ति जफतको मागसहित आरोप पत्र दर्ता गरेको हो।
अनुसन्धान अनुसार, पौड्यालले मिति २०५१ सालदेखि २०८० सालसम्मको सेवाअवधिमा वैध आय स्रोतबाट दुई करोड ५८ लाख ९७ हजार ३२४ रुपैयाँ ७५ पैसा आम्दानी गरेका थिए। तर सोही अवधिमा उनले छ करोड २२ लाख १८ हजार ५३२ रुपैयाँ २५ पैसा खर्च गरेको देखिएको छ। यसरी आम्दानी र खर्चबीच तीन करोड ६३ लाख २१ हजार २०७ रुपैयाँ ५० पैसाको फरक देखिएपछि उक्त रकम अवैध रूपमा आर्जन गरिएको आयोगको निष्कर्ष छ।
आयोगले भ्रष्टाचार निवारण ऐन, २०१७ र प्रचलित ऐन, २०५९ का सम्बन्धित धाराहरूअनुसार पौड्याललाई दोषी ठहर गर्दै सजायको माग गरेको छ।
त्यस्तै, पौड्यालले आर्जन गरेको केही सम्पत्ति आफ्नी श्रीमती विष्णु मैया पौड्यालको नाममा राखेको भेटिएकाले उनलाई समेत प्रतिवादी बनाइएको आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिए।





