“सव-इन्जिनियर कुमार पौड्यालविरुद्ध भ्रष्टाचारको आरोपमा विशेष अदालतमा आरोपपत्र दायर”



काठमाडौं, वैशाख २८ –
उपत्यका विकास प्राधिकरणअन्तर्गत दिव्येश्वरी जग्गा एकीकरण आयोजना अन्तर्गत सव-इन्जिनियरका रूपमा कार्यरत कुमार पौड्यालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानूनी रूपमा सम्पत्ति आर्जन गरेको आरोपमा पौड्यालविरुद्ध विशेष अदालत, काठमाडौंमा सोमबार आरोपपत्र दायर गरेको हो।

आयोगका अनुसार पौड्यालले मिति २०५१ सालदेखि २०८० सालको बीचमा कुल रु. २ करोड ५८ लाख ९७ हजार ३२४ रुपैयाँ वैध आम्दानी गरेका थिए। तर सोही अवधिमा उनले घर निर्माण, जग्गा खरिद, सवारीसाधन खरिद, अध्ययन खर्च, रेष्टुरेन्ट लगानी, सुन खरिद, ऋण भुक्तानीलगायत शीर्षकमा कुल रु. ६ करोड २२ लाख १८ हजार ५३२ रुपैयाँ खर्च गरेको देखिएको छ।

यसअनुसार, उनले रु. ३ करोड ६३ लाख २१ हजार २०७ रुपैयाँ बराबरको सम्पत्ति वैध आम्दानीभन्दा बढी खर्च गरेका छन्। आयोगले यो रकम गैरकानूनी रूपमा आर्जन गरिएको ठहर गर्दै सो बराबरको सम्पत्ति जफत गरी कैद र जरिवानासमेतको सजाय माग गर्दै अदालतमा मुद्दा दायर गरेको हो।

अख्तियारका प्रवक्ता राजेन्द्र कुमार पौडेलका अनुसार, पौड्यालले सार्वजनिक पदमा रहँदा आर्जन गरेको केही सम्पत्ति आफ्नी श्रीमती विष्णु मैया पौड्यालको नाममा राखेको पाइएकाले जफत प्रयोजनका लागि उनलाई समेत प्रतिवादी बनाइएको छ।

आयोगले साबिक भ्रष्टाचार निवारण ऐन, २०१७ तथा हाल लागू प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार कारबाहीको माग गर्दै विशेष अदालतमा मुद्दा अगाडि बढाएको हो।

प्रतिक्रिया दिनुहोस्