
काठमाडौं, बैशाख २८
बसुन्धरा नेसनल एकेडेमी (बीएनए) द्वारा आयोजित आठौं बीएनए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिता मंगलबारदेखि सुरु हुने भएको छ।
प्रतियोगितामा जुनियर ब्वाइज र सिनियर गल्र्स विधामा गरी २४ टिमको सहभागिता रहनेछ। बीएनएका प्रिन्सिपल टंककुमार चापागाईंले आइतबार पत्रकार सम्मेलनमार्फत जानकारी दिएका हुन्। दुबै विधामा १२–१२ टिम रहनेछन्, जसलाई चार समूहमा विभाजन गरी लिग कम नकआउट प्रारुपमा खेल सञ्चालन गरिनेछ।
प्रतियोगिता संयोजक नारायण खवासका अनुसार जुनियर ब्वाइजतर्फ कक्षा ८ सम्मका विद्यार्थी तथा सिनियर गल्र्सतर्फ कक्षा १० सम्मका छात्राहरूले सहभागी हुन पाउनेछन्।
प्रतियोगिता सञ्चालनमा करिब ३ लाख रुपैयाँ खर्च हुने विद्यालयका को–ओर्डिनेटर सन्तोष फुयालले जानकारी दिए। प्रतियोगिता जेठ ६ गतेसम्म बसुन्धारास्थित नमुना टोलमा सञ्चालन हुनेछ।
गत वर्षको जुनियर ब्वाइजमा सेब र सिनियर गल्र्समा भ्याली पब्लिक विजेता थिए। यस वर्ष बीएनएले प्रतियोगिताका लागि आफ्नो बास्केटबल कोर्टसमेत पुनर्निर्माण गरेको छ, जसमा करिब ६ लाख रुपैयाँ खर्च भएको प्रिन्सिपल चापागाईंले बताए।





