
काठमाडौं, वैशाख २८
नेपाली सेनाको आयोजना र नेपाल टेनिस संघको प्राविधिक सहयोगमा सम्पन्न तेस्रो संस्करणको ‘प्रधान सेनापति राष्ट्रिय टेनिस प्रतियोगिता–२०८२’ आज सम्पन्न भएको छ। जङ्गी अड्डामा आयोजित समापन समारोहमा प्रधान सेनापति महारथी श्री अशोक राज सिग्देल प्रमुख अतिथि रहनु भएको थियो।

समारोहमा प्रधान सेनापतिले प्रतियोगिताका विजेता त्रिभुवन आर्मी क्लब, पुरुष एकलका प्रदीप खड्का तथा महिला एकलकी सिभाली गुरुङलाई ट्रफी र प्रमाणपत्र प्रदान गर्नुभयो। साथै, विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई पनि पुरस्कार प्रदान गरिएको थियो।
प्रतियोगिता वैशाख २१ गतेदेखि जङ्गी अड्डा र दशरथ रंगशालास्थित टेनिस कोर्टमा सुरु भएको थियो। यसमा ९ वटा क्लबका १५ महिला सहित १९६ खेलाडीहरूले सहभागिता जनाएका थिए। प्रतियोगितामा १२ वटा विधा र अन्तर-सरकारी (Inter-Governmental) तर्फका २ विधासहित कुल १४ विधामा प्रतिस्पर्धा गरिएको थियो।
वि.सं. २०७८ देखि सुरु गरिएको यो प्रतियोगिता नेपाली टेनिस खेलको विकास तथा उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यका साथ सञ्चालन हुँदै आएको हो।

समापन समारोहमा बलाधिकृत, बलाध्यक्ष, रथीवृन्द, सशस्त्र प्रहरी बल नेपालका अतिरिक्त महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका अतिरिक्त मुख्य अनुसन्धान निर्देशक, नेपाल टेनिस संघ तथा राष्ट्रिय खेलकुद परिषद्का पदाधिकारी, विभिन्न टेनिस क्लबका प्रतिनिधि, नेपाली सेनाका अधिकृत, सञ्चारकर्मी र खेलाडीहरूको उपस्थिति थियो।






