
काठमाडौं, बैशाख २७
स्ट्याग च्याम्पियन्स टेबलटेनिस एकेडेमीले दक्षिण एसियाली युथ टेबलटेनिस च्याम्पियनसिपमा पदक जित्ने आफ्ना पाँच खेलाडीलाई शनिबार विशेष कार्यक्रममार्फत नगदसहित सम्मान गरेको छ।

अखिल नेपाल टेबलटेनिस संघका अध्यक्ष वृजेन्द्रबहादुर हमाल, उपाध्यक्ष गोवर्धन श्रेष्ठ र सुमन खड्गी, महासचिव कुँवेरप्रकाश सिंह तथा राष्ट्रिय टेबलटेनिस टिमका प्रमुख प्रशिक्षक मोहनदास बासुकलाले पदक विजेता खेलाडीहरूलाई जनही १० हजार रुपैयाँ, मायाको चिनो र प्रमाणपत्र प्रदान गरी सम्मानित गरे।

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा वैशाख ११ देखि १४ गतेसम्म आयोजित प्रतियोगितामा नेपालले १ स्वर्ण, ६ रजत र ५ कांस्य गरी जम्मा १२ पदक जितेको थियो।
सम्मानित खेलाडीहरूमा यु–१९ समूहका गनञ्जय दाहाल र प्रवेश बस्नेत तथा यु–१५ समूहका शुभश्री श्रेष्ठ, प्राज्ना महर्जन र सुरम्या शाक्य रहेका छन्।
खेलाडीहरूको उपलब्धि:
गनञ्जय दाहाल:
यु–१९ ब्वाइज टिम – स्वर्ण
यु–१९ ब्वाइज डबल्स – रजत
यु–१९ ब्वाइज एकल – कांस्य
यु–१९ मिक्स डबल्स – कांस्य
प्रवेश बस्नेत:
यु–१९ ब्वाइज टिम – स्वर्ण
यु–१९ ब्वाइज डबल्स – रजत
शुभश्री श्रेष्ठ:
यु–१५ गल्र्स डबल्स – रजत
यु–१५ गल्र्स एकल – कांस्य
यु–१५ गल्र्स टिम – कांस्य
प्राज्ना महर्जन:
यु–१५ गल्र्स डबल्स – रजत
यु–१५ गल्र्स टिम – कांस्य
सुरम्या शाक्य:
यु–१५ गल्र्स टिम – कांस्य
गनञ्जय र प्रवेश यु–१९ ब्वाइज टिम इभेन्टमा प्रथम भएका कारण अब उज्बेकिस्तानमा हुने एसियाली जुनियर टेबलटेनिस च्याम्पियनसिपका लागि छनोट भएका छन्।





