दक्षिण एसियाली युथ टेबलटेनिस पदक विजेता पाँच खेलाडीलाई स्ट्याग च्याम्पियन्स टेबलटेनिस एकेडेमीको सम्मान



काठमाडौँ, २७ वैशाख

स्ट्याग च्याम्पियन्स टेबलटेनिस एकेडेमीले शनिबार दक्षिण एसियाली युथ टेबलटेनिस च्याम्पियनसिप २०२५ मा पदक जितेका पाँच खेलाडीलाई नगदसहित सम्मान गरेको छ।

सम्मान समारोहमा अखिल नेपाल टेबलटेनिस संघका अध्यक्ष विजेन्द्र हमाल, उपाध्यक्षद्वय गोवर्धन श्रेष्ठ र सुमन खड्गी, महासचिव कुबेरप्रकास सिंह तथा राष्ट्रिय टेबलटेनिस टिमका प्रमुख प्रशिक्षक मोहनदास बासुकलाले पदक विजेता खेलाडीहरूलाई नगद १०,००० रुपैयाँ, मायाको चिनो र प्रमाणपत्र प्रदान गर्दै सम्मानित गरे।

स्ट्याग च्याम्पियन्स टेबलटेनिस एकेडेमी नव पटक राष्ट्रिय च्याम्पियन बनेकी नविता श्रेष्ठ र प्रशिक्षक राकेश महर्जनले स्थापना गरेको संस्था हो।

गत वैशाख ११ देखि १४ गतेसम्म लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा आयोजित दक्षिण एसियाली युथ टेबलटेनिस च्याम्पियनसिपमा नेपालले एक स्वर्ण, ६ रजत र ५ कांस्यसहित १२ पदक जितेको थियो।

एकेडेमीले यु–१९ समूहका गनञ्जय दाहाल र प्रवेश बस्नेत तथा यु–१५ समूहका शुभश्री श्रेष्ठ, प्राज्ना महर्जन र सुरम्या श्रेष्ठलाई सम्मान गरेको हो।

गनञ्जयले यु–१९ ब्वाइज टिममा स्वर्ण, डबल्समा रजत, एकल र मिक्स डबल्समा कांस्य पदक जिते। प्रवेशले यु–१९ ब्वाइज टिममा स्वर्ण तथा डबल्समा रजत पदक हासिल गरे।

त्यस्तै, शुभश्रीले यु–१५ गल्र्स डबल्समा रजत, एकल र टिम इभेन्टमा कांस्य जितिन्। प्राज्नाले यु–१५ डबल्समा रजत र टिममा कांस्य, सुरम्याले टिम इभेन्टमा कांस्य पदक दिलाइन्।

गनञ्जय र प्रवेश यु–१९ ब्वाइज टिमको पहिलो स्थानमा रहेकाले उज्बेकिस्तानमा हुने एसियाली जुनियर टेबलटेनिस प्रतियोगितामा सहभागिता जनाउने भएका छन्।

प्रतिक्रिया दिनुहोस्