एनएसजेएफको नयाँ कार्यसमिति चयन, अध्यक्षमा निरञ्जन अधिकारी




काठमाडौं, वैशाख २५

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को २०औं साधारणसभा तथा निर्वाचनबाट निरञ्जन अधिकारीको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको छ।

बिहीबार नक्सालस्थित क्राउन प्लाजा होटलमा सम्पन्न निर्वाचनमा अधिकारी अध्यक्ष पदमा निर्वाचित भए। उनले आफ्ना प्रतिस्पर्धी प्रकाश तिमिल्सिनालाई पराजित गर्दै ४५ मत प्राप्त गरे, भने तिमिल्सिनाले ३५ मत ल्याए।

महासचिवमा अञ्जन खड्काले ५१ मतसहित राजु घिसिङलाई पछि पारे, घिसिङले २८ मत पाए। सचिवमा अनिल मल्ल ठकुरी ५१ मतसहित निर्वाचित भए भने उनका प्रतिस्पर्धी गोविन्दराज नेपालले २८ मत ल्याए।

प्रथम उपाध्यक्ष प्रज्वल ओली, उपाध्यक्ष सञ्जीव सिल्पकार र गोविन्द रेग्मी, कोषाध्यक्ष मुना कार्की तथा महिला सदस्य नमिता दाहाल निर्विरोध निर्वाचित भए।

खुला सदस्य पदमा रमेश सुवेदी (५७ मत), कविरस शर्मा (५४ मत) र अभिनव जोशी (३९ मत) विजयी भए।

निर्वाचित कार्यसमिति तीन वर्षका लागि रहनेछ। निर्वाचन नेपाल पत्रकार महासंघका महासचिव रामप्रसाद दाहालको नेतृत्वमा तीन सदस्यीय समितिले गराएको थियो। दाहालले नवनिर्वाचित समितिलाई प्रमाणपत्र प्रदान गरे।

निर्वाचनअघि भएको बन्द सत्रले महासचिव प्रज्वल ओलीको सांगठनिक प्रतिवेदन र कार्यबहाक कोषाध्यक्ष मुना कार्कीको आर्थिक प्रतिवेदन सर्वसम्मत रूपमा पारित गरेको थियो। साधारण सभाको उद्घाटन राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङले गरेका थिए।

अध्यक्षमा निर्वाचित भएपछि अधिकारीले अघिल्लो कार्यसमितिको रचनात्मक पहललाई निरन्तरता दिँदै खेलकुद पत्रकारितालाई नयाँ उचाइमा पु¥याउने प्रतिबद्धता व्यक्त गरे।

प्रतिक्रिया दिनुहोस्