
मोरङ जिल्लाको केराबारी गाउँपालिका–९ देवीझोडाका ३७ वर्षीय नईन्द्र विश्वकर्मा सन् २०८० मा श्रम स्वीकृति प्राप्त गरी वैदेशिक रोजगारीको लागि बहराइन गएका थिए। सन् २०८१ मा गम्भीर मृगौला रोगका कारण नेपाल फर्किएका उनी उपचारकै क्रममा निधन भएका थिए।

मृतककी पत्नी भिमकुमारी विश्वकर्माले वैदेशिक रोजगारी म्यादी बीमा अन्तर्गतको रु.१३,००,०००/- दावी गर्न सन नेपाल लाइफ इन्स्योरेन्स, विराटनगर शाखामा सम्पर्क गर्दा त्यहाँ कार्यरत म्यानेजर सन्तोष अधिकारीले बीमा सम्बन्धी जानकारी नदिई उनलाई विभिन्न कागजातमा हस्ताक्षर गराउन लगाएका थिए। साथै, ग्लोबल आईएमई बैंकमा एकल तथा संयुक्त खाता खोलाई खाली चेकहरूमा हस्ताक्षर गराई ती चेकबुकहरू आफैंसँग राखेका थिए।
बीमा रकम दाबी गर्दा उक्त रकममध्ये रु.५,७६,०००/- मात्र प्राप्त हुने जानकारी पाएपछि भिमकुमारीले जिल्ला प्रशासन कार्यालय मोरङमा उजुरी दिएकी थिइन्। सो उजुरीका आधारमा प्रारम्भिक अनुसन्धान गर्दा सन्तोष अधिकारीले भिमकुमारीको नाममा १५ वर्ष अवधिको वार्षिक रु.७०,०००/- बीमा, मृतकका नाति प्रतीक विश्वकर्माको नाममा वार्षिक रु.५१,०००/- र पहिलो पत्नी मिरा विश्वकर्माको नाममा वार्षिक रु.७०,०००/- तिर्ने गरी बीमा गरेका थिए, जसले आर्थिक भार सिर्जना गराएको देखिएको छ।
त्यसैगरी, भिमकुमारीको नाममा खोलिएको खातामा रु.६,४४,१७८/- को १५ वर्षे फिक्स्ड डिपोजिट राखिएको समेत खुलेको छ।
विश्वासघात गरी ठगी गरेको पुष्टि भएपछि सन्तोष अधिकारीलाई पक्राउ गरी आपराधिक विश्वासघात र ठगी मुद्दामा अनुसन्धान अघि बढाइएको छ।
पक्राउ परेका व्यक्तिको विवरणः
नाम: सन्तोष अधिकारी
ठेगाना: मोरङ जिल्ला, विराटनगर महानगरपालिका–३





