
निर्देशक मिलन चाम्सको आगामी फिल्म ‘सुम्निमा’ मा मुख्य अभिनेत्रीको रूपमा उपासना सिंह ठकुरी अनुबन्धित भएकी छन्। प्रेमकथामा आधारित यो फिल्म नेपाली र अंग्रेजी दुवै भाषामा निर्माण गरिनेछ।
उपासनाको अनुबन्धसँगै उनको जोडीका लागि अभिनेता छान्न अडिसन खुलाइएको छ। अडिसनमा युकेमा बसोबास गर्ने २० देखि २६ वर्ष उमेर समूहका व्यक्तिहरूले भाग लिन पाउनेछन्। निर्देशक चाम्सका अनुसार फिल्मको कथा युनिभर्सल भएकोले अन्तर्राष्ट्रिय दर्शकलाई लक्षित गरेर निर्माण गर्न लागिएको हो।

फिल्मको छायांकन नेपाल र बेलायतमा आगामी जुलाई महिनादेखि सुरु हुनेछ। ‘सुम्निमा’ चाम्स इन्टरटेनमेन्ट र गोर्खा फिल्म्सको संयुक्त ब्यानरमा निर्माण हुन लागेको हो। यो चाम्सको ११ औं निर्देशकीय प्रोजेक्ट हुनेछ भने फिल्मको कथा तथा पटकथा राजीव थापाले लेख्नेछन्।
चाम्सको निर्देशनमा तयार भएको बायोपिक फिल्म ‘अञ्जिला’ ले सफलतापूर्वक ५१ दिन प्रदर्शन पार गरिसकेको छ। ‘अञ्जिला’ को सफलतापछि चाम्सका लागि नयाँ फिल्मलाई अझ उत्कृष्ट बनाउने चुनौती छ। कथा र टिमप्रति विश्वस्त चाम्स ‘सुम्निमा’ उत्कृष्ट बन्नेमा ढुक्क देखिन्छन्। फिल्मका अन्य प्राविधिक पक्ष तथा टिमको विस्तृत जानकारी पछि सार्वजनिक गरिने बताइएको छ।





