एचजेबीएल: हाउण्ड्सको लगातार दोस्रो जित, गोल्डेनगेटको पहिलो सफलता



काठमाडौं । हाउण्ड्स एकेडेमीले हिमालयन जाभा बास्केटबल लिग (एचजेबीएल) मा लगातार दोस्रो जित हात पारेको छ। मंगलबार कीर्तिपुर कभर्डहलमा भएको खेलमा हाउण्ड्सले टाइम्स बास्केटबल क्लबलाई ८५-८१ ले हराएको हो।

प्रतिस्पर्धात्मक खेलमा दुबै टोलीले दुई-दुई क्वाटर जितेका थिए। पहिलो क्वाटरमा टाइम्सले २२-१९ को अग्रता लियो। दोस्रो क्वाटरमा हाउण्ड्सले २६-२० को स्कोर गर्दै पहिलो हाफमा ४५-४२ को अग्रता बनायो। तेस्रो क्वाटर पनि हाउण्ड्सले २८-१६ ले आफ्नो पक्षमा पारेर ७३-५८ को स्पष्ट अग्रता बनायो।

१५ अंकले पछि परेको टाइम्सले अन्तिम क्वाटरमा सशक्त पुनरागमन प्रयास गर्दै २३-१२ को जित निकाले पनि हार टार्न सकेन। टाइम्सका कप्तान सदिशे प्रधानले २९ अंक जोडे, तर टोलीलाई जित दिलाउन पर्याप्त भएन। हाउण्ड्सका सुजल खड्काले २१ अंक जोडे। लगातार दोस्रो खेलमा विजय बुर्जा ‘मोस्ट भ्यालुएबल प्लेअर’ घोषित भए।

हाउण्ड्सले पहिलो खेलमा रोएल्सलाई हराएको थियो भने टाइम्सको यो पहिलो हार हो। टाइम्सले पहिलो खेलमा गोल्डेनगेटलाई पराजित गरेको थियो।

मंगलबारै भएको अर्को खेलमा गोल्डेनगेट बास्केटबल क्लबले रोएल्सलाई ७९-७२ ले पराजित गर्दै पहिलो जित दर्ता गर्‍यो। रोएल्सको यो लगातार दोस्रो हार हो।

पहिलो क्वाटरमा रोएल्सले २०-१६ को अग्रता लिएको थियो। तर गोल्डेनगेटले दोस्रो क्वाटर १७-१३, तेस्रो २३-२२, र चौथो क्वाटर २३-१७ ले आफ्नो पक्षमा पार्दै खेल जित्यो।

गोल्डेनगेटका निकेश मगरले सर्वाधिक २७ अंक जोडे र ‘मोस्ट भ्यालुएबल प्लेअर’ घोषित भए। रोएल्सका प्रसन ध्वज मास्केले २५ अंक स्कोर गरे।

बुधबार लिगअन्तर्गत सामाखुशी युथ क्लब र कीर्तिपुरबीच प्रतिस्पर्धा हुनेछ। अघिल्लो खेलमा कीर्तिपुर विजयी भएको थियो।

६ टोली सहभागी लिग डबल राउण्ड रोबिन प्रणालीमा सञ्चालन भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्