
पोखरा, गण्डकी प्रदेश
गण्डकी प्रदेश फुटबल संघको आयोजनामा असार २८ देखि साउन ३ गतेसम्म पोखरामा गण्डकी कप महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा)ले प्रतियोगिता सञ्चालनका लागि मिति स्वीकृत गरेपछि संघले तयारी सुरु गरिसकेको छ।
संघका महासचिव विनोद गुरुबका अनुसार, प्रतियोगितामा ८ टिमको सहभागिता हुनेछ। त्रिभुवन आर्मी क्लब र एपीएफ क्लबले सहभागी हुने पक्का भइसकेको जानकारी दिँदै उनले भने, “एन्फाले मिति दिएपछि हामीले तयारी सुरु गरेका छौं। गण्डकीको पनि टिम रहनेछ।”
महिला फुटबलको गतिविधि न्यून रहेको पोखरामा पहिलोपटक राष्ट्रिय स्तरको प्रतियोगिता आयोजना हुन लागेको हो। महासचिव गुरुबले यो प्रतियोगिता गण्डकी प्रदेशकै पहिलो ऐतिहासिक महिला फुटबल प्रतिस्पर्धा हुने दाबी गरे।
“हामीले महिला फुटबललाई प्राथमिकतामा राखेर यो प्रतियोगिता आयोजना गर्दैछौं,” उनले भने, “यो केवल एक प्रतियोगिता होइन, महिला फुटबलको दीर्घकालीन विकासतर्फ लिएको पहिलो ठोस कदम हो।”
उनका अनुसार संघले यसअघि प्रतियोगिता नगरे पनि खेलाडी, प्रशिक्षक र रेफ्रीको विकासका लागि तालिम, गोष्ठी तथा कोर्षहरू सञ्चालन गर्दै आएको थियो।
गुरुबले बजेट अभावका कारण केही चुनौती रहेको स्वीकार गर्दै पनि यसपटक सहयोगकै भरमा प्रतियोगिता आयोजना गर्ने आँट गरिएको बताए। “हामीप्रति गुनासो आउँथ्यो कि महिला फुटबललाई बेवास्ता गरिएको छ। त्यो गुनासो सत्य पनि हो। तर अहिले हामी सुधारको बाटोमा छौं,” उनले स्पष्ट पारे।
उनका अनुसार यदि गण्डकीमा महिला फुटबललाई निरन्तर प्रशिक्षण र प्रतिस्पर्धा दिन सकियो भने प्रदेशले निकट भविष्यमा विभागीय टिमलाई पनि टक्कर दिन सक्ने बलियो टिम निर्माण गर्न सक्छ।
“हामीले बागमती गोल्डकपका लागि टिम छनोट गर्दा उत्साहजनक सहभागिता देख्यौं,” उनले बताए, “त्यहाँ राम्रो खेलाडीहरू थिए। तिनीहरूलाई निरन्तर प्रशिक्षण दिन सके गण्डकीको महिला फुटबलले नयाँ उचाइ लिनेछ।”





