
काठमाडौं, २३ वैशाख
खेतीमा व्यापक क्षति पुर्याउने बाँदर र बँदेलको प्रभावकारी व्यवस्थापन नगरी नेपालमा कृषि प्रणालीले अपेक्षित गति लिन नसक्ने नेपाली कांग्रेसका उपसभापति तथा पूर्वमन्त्री धनराज गुरुङले बताएका छन्।
प्रतिनिधिसभाको बैठकमा आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै मंगलबार उनले नेपालका कृषकहरूलाई बाँदर र बँदेलबाट हुने क्षति गम्भीर चुनौती बनेको उल्लेख गर्दै यसको दीर्घकालीन समाधानको माग गरे।
उहाँले भने, “अष्ट्रेलियाले आफ्नो राष्ट्रिय जनावर कंगारुलाई वर्षमा ५० लाख मारी मासु र छाला निर्यात गर्ने निर्णय गर्छ, तर हामीकहाँ खेती सखाप पार्ने बाँदर र बँदेललाई छुनसमेत नपाइने अवस्था छ। अधिकारकर्मीहरूले त्यहाँ पनि विरोध गरेकै होलान्, तर सरकारको निर्णय स्पष्ट छ।”
गुरुङले जोड दिँदै भने, “यहाँ भने बाँदर पनि मार्न मिल्दैन, बँदेल पनि नियन्त्रण गर्न पाइँदैन भन्दै बस्दा कृषकको जीवन कठिन हुँदै गएको छ। अब यी वन्यजन्तुको नियन्त्रण र व्यवस्थापन गर्न ढिला गर्नु हुँदैन।”
उहाँले कृषिलाई संरक्षण गर्नको लागि व्यवहारिक र कानुनी व्यवस्था परिमार्जन गर्नुपर्ने धारणा पनि राखे।





