
काठमाडौं, २३ वैशाख — नेपाल कांग्रेसका उपसभापति तथा पूर्वमन्त्री धनराज गुरुङले आउँदो बुद्ध जयन्तीको अवसरमा प्रधानमन्त्रीदेखि सबै उच्चपदस्थ व्यक्तिहरूलाई लुम्बिनीमा ६ घण्टा ध्यान बस्न आग्रह गरेका छन्।
प्रतिनिधिसभामा जारी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै गुरुङले नेपाललाई पर्यटन हबको रूपमा विकास गर्न सकिने धारणा राखे। उनले भने, “देशलाई पर्यटकीय हब बनाउन सकिन्छ, त्यसका लागि अब व्यवहारमै काम गर्न आवश्यक छ।”
गुरुङले संसदमा मन्तव्य दिंदै थपे, “आजबाट ठीक ६ दिनपछि बुद्ध जयन्ती पर्दछ। त्यस दिन प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभा अध्यक्ष, मन्त्रीहरू र सांसदहरू सबै मिलेर लुम्बिनी पुगौं र ६ घण्टा ध्यान बसौं। बुद्धले ६ वर्ष ध्यान गरे, हामीले ६ घण्टा ध्यान गरेर पनि विश्वसमक्ष सन्देश दिन सक्छौं।”
उनका अनुसार यस्ता गतिविधिले विश्वभरका बुद्ध धर्मावलम्बीहरूलाई नेपालतर्फ आकर्षित गर्न सक्ने सम्भावना छ।
यस प्रस्तावले नेपाललाई धार्मिक तथा शान्ति पर्यटनको केन्द्रका रूपमा प्रस्तुत गर्न सहयोग पुग्ने गुरुङको विश्वास छ।





