राष्ट्रिय महिला हक्कीमा आर्मी च्याम्पियन, पुरुषतर्फ सेमिफाइनल समीकरण पूरा



काठमाडौं, वैशाख २२

राष्ट्रिय महिला हक्की प्रतियोगितामा नेपाल आर्मी क्लबले अपराजित यात्रा कायम राख्दै उपाधि हात पारेको छ। नेपाल हक्की संघको आयोजनामा भएको प्रतियोगितामा आर्मीले सिंगल राउन्ड रोबिन लिगको अन्तिम खेलमा गण्डकी प्रदेशलाई ३–० गोलले पराजित गर्दै शीर्ष स्थानमा रह्यो। चार टोली सहभागी प्रतियोगितामा आर्मीले ९ अंक जोड्दै उपाधि जितेको हो।

 राष्ट्रिय महिला हक्कीका विधागत उत्कृष्ट खेलाडी

च्यासल मैदानमा भएको निर्णायक खेलमा आर्मीका लागि दमरा भट्टले २ र सीतामाया बलले १ गोल गरिन्। दमरा ‘प्लेयर अफ द म्याच’ घोषित भइन्। २ जित र १ हारसहित ६ अंक बटुलेको गण्डकी दोस्रो बन्यो। ३ अंक हासिल गरेको मधेश प्रदेश तेस्रो स्थानमा रह्यो। मधेशले बागमतीलाई १–० गोलले हराएको थियो, जसमा भावना राईले निर्णायक गोल गरिन्।

राष्ट्रिय महिला हक्कीकी उत्कृष्ट खेलाडी निलिमा पाण्डे ।

प्रतियोगिताको उत्कृष्ट खेलाडीमा आर्मीकी निलिमा पाण्डे चयन भइन् भने मधेशकी खुश्बु कुमारी उदीयमान खेलाडी घोषित भइन्। गण्डकीका अनिशा थापा मगर (गोलकिपर) र सोनु बराल (डिफेन्स) उत्कृष्ट ठहरिए। आर्मीकी कमला चन्द प्रतियोगिताकी सर्वाधिक ५ गोलकर्त्री बनिन्। उत्कृष्ट पाँच खेलाडीले जनही ५ हजार रुपैयाँ पुरस्कार पाए।
शिर्ष तीन टोलीले क्रमशः ७५ हजार, ५० हजार र २५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरे।

विजेताहरूलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष ध्रुव आचार्य, हक्की संघकी महासचिव सुवर्ण श्रेष्ठ, सदस्य जगतसिंह धामी, अध्यक्ष अनिलप्रसाद शर्मा, सचिव असिम शर्मा लगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे।

पुरुषतर्फ सेमिफाइनल टुंगो

पुरुष हक्की प्रतियोगितामा सेमिफाइनल समीकरण तय भएको छ। सेमिफाइनलमा नेपाल आर्मी र एपीएफ क्लब तथा गण्डकी र नेपाल प्रहरी आमनेसामने हुने भएका छन्।

नेपाल प्रहरीले बागमतीलाई २–० ले हरायो, दुबै गोल शंकर घर्ती मगरले गर्दै ‘प्लेयर अफ द म्याच’ बने।
एपीएफले कर्णालीलाई १–० ले हरायो, सरोजकुमार गोलेले निर्णायक गोल गरे र ‘प्लेयर अफ द म्याच’ घोषित भए।
गण्डकीले मधेशलाई ३–० ले हराउँदै अन्तिम चारमा प्रवेश गर्‍यो। दीपक तामाङले २ र कुशल नेपालीले १ गोल गरे।

दुवै सेमिफाइनल खेल मंगलबार हुने छन्।

प्रतिक्रिया दिनुहोस्