राष्ट्रिय महिला हक्कीमा नेपाली आर्मी च्याम्पियन, दमदार प्रदर्शनसहित उपाधि कब्जा



काठमाडौं, वैशाख २२

राष्ट्रिय महिला हक्की प्रतियोगितामा नेपाली आर्मी क्लब च्याम्पियन बनेको छ। सिंगल राउन्ड रोबिन लिग प्रणालीमा भएको प्रतियोगितामा आर्मीले अपराजित रहँदै शीर्ष स्थान हासिल गर्‍यो र उपाधि हात पार्‍यो।

चार टिम सहभागी प्रतियोगितामा आर्मीले ३ खेलमा ३ जितसहित अधिकतम ९ अंक जोड्यो। च्यासल मैदानमा सोमबार भएको अन्तिम खेलमा आर्मीले गण्डकी प्रदेशलाई ३–० ले पराजित गर्दै उपाधि पक्का गरेको हो।

आर्मीका लागि दमरा भट्टले २ गोल र सीतामाया बलले १ गोल गर्दै टोलीलाई सहज जित दिलाए। दमरा भट्ट उक्त खेलकी प्लेयर अफ द म्याच घोषित भइन्।

दुई जित र एक हारसहित गण्डकी प्रदेश ६ अंक जोड्दै दोस्रो स्थानमा रह्यो। मधेश प्रदेशले बागमतीलाई १–० ले हराउँदै ३ अंकसहित तेस्रो स्थान हासिल गर्‍यो। मधेशका लागि भावना राईले निर्णायक गोल गरेकी थिइन्।

प्रतियोगितामा शीर्ष तीन स्थान प्राप्त टोलीले क्रमशः ७५ हजार, ५० हजार र २५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरे।

व्यक्तिगत विधामा नेपाली आर्मीकी निलिमा पाण्डे प्रतियोगिताकी उत्कृष्ट खेलाडी घोषित भइन् भने मधेश प्रदेशकी खुश्बु कुमारी उदीयमान खेलाडी बनिन्। गण्डकीकी अनिशा थापा मगर उत्कृष्ट गोलरक्षक र सोनु बराल उत्कृष्ट डिफेन्डर घोषित भए।

आर्मीकी कमला चन्दले कुल ५ गोल गर्दै सर्वाधिक गोलकर्ता अवार्ड जितिन्। उत्कृष्ट पाँच खेलाडीले जनही ५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरे।

विजेताहरूलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष ध्रुव आचार्य, हक्की संघकी महासचिव सुवर्ण श्रेष्ठ, राखेप सदस्य जगतसिंह धामी, संघका अध्यक्ष अनिलप्रसाद शर्मा तथा सचिव असिम शर्मालगायतले एक विशेष समारोहमा पुरस्कृत गरे।

पुरुष हक्की प्रतियोगिता भने हाल पनि जारी छ।

राष्ट्रिय महिला हक्कीका विधागत उत्कृष्ट खेलाडी

राष्ट्रिय महिला हक्कीकी उत्कृष्ट खेलाडी निलिमा पाण्डे ।

प्रतिक्रिया दिनुहोस्