
मुस्ताङ, वैशाख २२ — मुस्ताङको मुक्तिनाथ क्षेत्रलाई अझ प्रभावकारी धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न आवश्यक रहेको जनाइएको छ। प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालका अनुसार, दर्शनार्थीको बसाइ लम्ब्याउने, पर्यटकमैत्री पदमार्ग निर्माण गर्नेलगायतका योजनामा काम अघि बढाइने छ।
प्रजिअ भुसालको नेतृत्वमा गएको टोलीले गत शनिबार मुक्तिनाथ क्षेत्रको स्थलगत निरीक्षण गरेको थियो। निरीक्षणपछि उनले जानकारी दिँदै भने, “यहाँका तीनवटा धार्मिक सम्पदा आपसमा जोड्ने गरी करीब चार किलोमिटर लम्बाइको पदमार्ग निर्माण गरिनुपर्ने देखिएको छ।”
उनका अनुसार, पदमार्ग निर्माणको काम स्थानीय समुदायको सहकार्यमा मुक्तिनाथ विकास समितिले अघि बढाउनेछ।
निरीक्षण टोलीमा प्रशासन कार्यालयका कर्मचारी प्रकाश पौडेल, पूर्वाधार विकास कार्यालयका इन्जिनियर जगदिशचन्द्र जोशी, मुक्तिनाथ विकास समितिका रविन सुवेदीसहित ११ जना सहभागी थिए। टोलीले मुक्तिनाथ क्षेत्रको वैकल्पिक धार्मिक सम्पदालाई पर्यटनसँग जोड्ने लक्ष्यसहित प्रारम्भिक सम्भाव्यता अध्ययनसमेत गरेको जनाएको छ।
मुक्तिनाथको धार्मिक र सांस्कृतिक महत्वलाई समेटेर यस क्षेत्रलाई नयाँ पर्यटकीय गन्तव्यका रूपमा रूपान्तरण गर्ने योजना बनाइएको बताइएको छ।