
दाङ, वैशाख २२
वैदेशिक रोजगारीबाट फर्किएर घोराही उपमहानगरपालिका–१ सुकाखोला निवासी बोमबहादुर थापाले गाईपालन व्यवसायबाट उल्लेखनीय सफलता हात पारेका छन्। मलेसिया र दुबईमा झण्डै ११ वर्षसम्म काम गरेका थापाले अहिले स्वदेशमै बसेर मासिक एक लाख रुपैयाँभन्दा बढी आम्दानी गरिरहेका छन्।
थापा भन्छन्, “विदेशमा १८ घण्टा काम गथ्र्यौं, कमाइ देखिन्थ्यो; तर यहीँ ८ घण्टा पनि काम नगरी धेरै पैसा खोज्ने बानी छ हामीमा।”
थापाको दैनिकी बिहान ४ बजे उठेर गाई दुहुनेदेखि घोराही बजारका डेरीसम्म दूध पुर्याउने काममा बित्ने गर्छ। उनले आफ्नै गाईको मात्र नभई गाउँका अन्य किसानको दूध पनि संकलन गरी बजारमा लैजाने गर्छन्। थापाका अनुसार, गाईलाई दाना-पानी दिने काम परिवारले सहायता गरे पनि दूध वितरणको जिम्मेवारी भने उनी आफैंले सम्हाल्ने गरेका छन्।
पाँच वर्षअघि दुई गाईबाट सुरु भएको व्यवसाय अहिले १७ गाईसम्म पुगेको छ, जसमा ७ गाई दुहुना छन्। उनी दैनिक ८० लिटर दूध उत्पादन गरिरहेको बताउँछन्।
विदेशमा कमाएको पैसाले थापाले घोराही बजारमा घडेरी किनेका थिए र त्यहीँ एकतला घर निर्माण गरेका छन्। फर्किएपछि ट्रक सञ्चालनदेखि बाख्रापालनसम्म थुप्रै प्रयास गरे पनि गाईपालनमै सफल भएका हुन्।
“मेहनत गरे आफ्नै देशमा पनि पैसा फल्दोरहेछ,” थापाले गर्वका साथ भने।
थापाले पछिल्ला पाँच वर्षमा करीब ५० लाख रुपैयाँ आम्दानी गरेका छन् र अहिले जिल्लाका प्रेरणादायी किसानमध्ये एक बनेका छन्।





