
कास्की, वैशाख २२
निर्माणाधीन पोखरा–मुग्लिङ राजमार्गको पश्चिम खण्डमा पर्ने विद्युत् पोलहरू एक साताभित्र हटाइने भएका छन्। सडक मापदण्डभित्र परेका पोलहरूका कारण निर्माण कार्यमा समस्या भएपछि यो निर्णय गरिएको हो।
राजमार्गको पश्चिम खण्डमा ४२४ वटा पोल हटाउन बाँकी रहेकामा कास्की जिल्लामा मात्र ३५५ वटा छन्। यी पोलहरू नेपाल विद्युत् प्राधिकरणको पोखरा र लेखनाथ वितरण क्षेत्रअन्तर्गत पर्छन्।
पोल नहटाइँदा सडक स्तरोन्नतिको काम प्रभावित हुँदै आएको भन्दै आइतबार कास्की जिल्ला प्रशासन कार्यालयको समन्वयमा भएको सहजीकरण बैठकमा विद्युत् प्राधिकरणले एक साताभित्र सबै पोल हटाउने सहमति गरेको मुग्लिङ–पोखरा सडक योजना (पश्चिम खण्ड) का प्रमुख कृष्णबहादुर कुँवरले जानकारी दिए।
उनका अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले पनि ढिलाइप्रति चासो देखाएपछि समस्या समाधानका लागि सहजीकरण गरिएको हो।
“अब बाँकी पोलहरू हटेपछि निर्माण कार्य सहज हुनेछ,” कुँवरले भने।
योजनाअनुसार, कास्की खण्डको सैनिकबस्ती–विश्वविद्यालय १८ र आदर्शचोक–तालचोक खण्डमा रहेका ६७ पोल तथा डाँडाको नाकदेखि विजयपुरसम्म नालीभित्र परेका ९० पोल हटाउनु पर्ने छ।
मुग्लिङ–पोखरा सडकको पश्चिम खण्ड तनहुँको जामुनेदेखि पोखराको पृथ्वीचोक सेती पुलसम्म फैलिएको ४१ किलोमिटर लामो छ। हालसम्म ३५.७ किलोमिटरमा प्रथम तहको कालोपत्रे सम्पन्न भइसकेको छ भने भौतिक प्रगति ५०.३४% पुगेको योजना कार्यालयले जनाएको छ।
योजनाअनुसार, १९ किलोमिटर खण्डमा दुईतर्फी (चार लेन) र १६ किलोमिटर खण्डमा एकतर्फी (दुई लेन) कालोपत्रेको काम सम्पन्न भइसकेको छ।
आगामी असार मसान्तसम्म चार लेन निर्माण पूरा गर्ने लक्ष्यसहित निर्माण कम्पनीहरू परिचालित गरिएको योजना प्रमुख कुँवरले जानकारी दिए।
पश्चिम खण्डको निर्माण म्याद गएको वर्ष सकिएपछि एक वर्ष थप गरिएको थियो। नयाँ म्याद आगामी पुस दोस्रो सातासम्मको हो।





