
पोखरा, २१ वैशाख
पोखरामा जारी प्रथम लायन्स कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रण पुरुष भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लबले फाइनलमा स्थान सुरक्षित गरेको छ।
पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा शनिबार सम्पन्न दोस्रो सेमिफाइनलमा पुलिसले सशस्त्र प्रहरी बल (एपिएफ)लाई सोझो सेटमा ३–० ले हराउँदै उपाधि भिडन्तका लागि क्वालिफाइ गरेको हो। पुलिसले पहिलो सेट २५–१७, दोस्रो सेट २५–१८ र तेस्रो सेट २५–१५ ले जित हात पारेको थियो।

अब पुलिसले उपाधिका लागि इरानी टोलीसँग प्रतिस्पर्धा गर्नेछ। इरानी टोलीले यसअघि सम्पन्न पहिलो सेमिफाइनलमा त्रिभुवन आर्मी क्लबलाई ३–१ को सेटमा पराजित गर्दै फाइनलमा स्थान बनाएको हो। पहिलो सेट २०–२५ ले गुमाएपनि, इरानी टोलीले दोस्रो सेट २५–२०, तेस्रो सेट २८–२६ र चौथो सेट २६–२४ ले जित्दै पुनरागमन सफलता हात पारेको थियो। विशेषगरी चौथो सेटमा १८–२१ को अवस्थामा उल्टो मोड ल्याउँदै इरानी टोलीले निर्णायक जित निकालेको थियो।
फाइनल खेल सोमबार दिउँसो ४ बजे हुने आयोजकले जानकारी दिएको छ। त्यसअघि तेस्रो स्थानका लागि त्रिभुवन आर्मी क्लब र एपिएफबीचको खेल दिउँसो १ बजे सुरु हुनेछ।
प्रतियोगिताको विजेताले ४ लाख ४४ हजार ४४४ रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। उपविजेताले २ लाख ४४ हजार ४४४ रुपैयाँ पाउनेछ। त्यस्तै तेस्रो स्थान हासिल गर्ने टोलीलाई १ लाख ४४ हजार ४४४ रुपैयाँ, सर्वोत्कृष्ट खेलाडीलाई १४ हजार ४४४, र विधागत उत्कृष्ट खेलाडीलाई ८ हजार ४४४ रुपैयाँ पुरस्कार प्रदान गरिनेछ।





